Logo

सीमा विवादको लागि भारत तत्पर छ : भाजपा नेता उपाध्याय



‘यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले समाप्त गर्न सक्दैन्’
काठमाडौं, ३ फागुन । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । उनले थपे,‘भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान गर्यौं, नेपाल त हाम्रो नजिकको छिमेकी हो । हामी ठूलो हृदय बोकेर यसमा समस्याको समाधानको लागि धर्म पालना गर्छौं ।’ उनले नेपाल र भारतबीच कुनै ठूलो बोर्डर समस्या नभएको पनि जिकिर गरे । उनले भने,‘यदि सानातिना विवाद भए हामी आपसमा बसेर यो समाधान गर्न तत्पर छौं । यसको लागि निरन्तर सम्वाद जरुरी छ ।’

आयुष मन्त्रालयका बोर्ड सदस्यसमेत रहेका नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परीवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन् । उनले भने,‘यसरी धर्म परीवर्तन गराउनु गलत हो । यो अवश्यपनि राम्रो काम होईन् । तर, स्वेच्छाले धर्म परीवर्तन गरे भने त्यो स्वागतयोग्य कुरा हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपाल स्वर्गद्धार र देवताहरुको पवित्र भूमी भएको उल्लेख गरे । उनले भने,‘पूरै विश्वमा नेपाल एकमात्रै त्यस्तो देश हो, जो कसैको गुलाम बन्नु परेन र भएन । हामीलाई थाहा छ यो गुलामी हुँदाको पीडा र सजाय, यो मैले नेपाल र नेपालीहरुलाई प्रभावित गर्नको लागि बोलिरहेको छैन्, यो सत्य कुरा हो । नेपाल त पूरा विश्वको शीर हो । टोपी हो ।’

उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल र भारतबीच एक देश वा छिमेकी छिमेकीबीचको मात्रै सम्बन्ध छैन्, यो चीन, पाकिस्तान वा बंगलादेशजस्तो सम्बन्ध होईन, नेपाल त हाम्रो सहोदर भाई हो । हामीबीच रोटी र बेटीको सम्बन्ध छ ।’ उनले नेपालसँगको सम्बन्धको कुरा गर्दा भारतको आत्मा नेपालतर्फ भएको पनि सुनाए । ‘यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले पनि र कहिल्यैपनि समाप्त गर्न सक्दैन्’–उपाध्यायले भने ।

नेता उपाध्यायले नेपालमा कुनै नोक्शानी भए त्यसको प्रत्यक्ष असर भारतमा पर्ने र भारतमा त्यस्तो भए नेपालमा पनि असर पर्नेपनि सुनाए । उनले भने,‘यदि कुनै एक देशमा लाभ भए त्यसको लाभ अर्को देशमा पनि पर्छ ।’ उनले भारतबाट नेपाललाई कहिल्यैपनि हानी नभएको विश्वास दिलाए । उनले थपे,‘अहिलेसम्म भारतबाट नेपाललाई कुनै हानी भएको छैन, र भोलिका दिनमा पनि हुने छैनन् ।’

उनले सनातन धर्मालम्वीहरु सनातन भएर बाँच्न पाउनुपर्ने र सनातन धर्म भएर नै मर्न पाउनुपर्ने पनि तर्क गरे । उनले भने,‘यो हाम्रो संस्कृति हो । तर, विश्वमा सनातन भन्दापनि मानवताको धर्म ठूलो छ । यो कुरा पनि हामीले ख्याल गर्नुपर्छ ।’ उनले नेपाल प्राकृतिक रुपमा पनि अत्यन्तै सुन्दर रहेको सुनाउँदै यहाँ आएर दुई चार दिन बस्दा सबै तनाव दुर हुने पनि स्पष्ट पारे । उनले भने,‘यहाँ बसेपछि कुनै मेडिसिनको जरुरत पर्दैन् । यहाँको हावा, पानी सबै स्वच्छ छ । वातावरण पनि राम्रो छ ।’

पत्रकार ऋषि धमलाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी भएको सुनाउँदै भारतीय सेना कहिले फिर्ता हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘यो विषय लिएर तपाई भारत आउनुहोस् ऋषिजी, म भारतीय सरकारी अधिकारीसँग कुरा गराउँछु । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीमात्रै निर्णायक हुँदैनन्, हाम्रो त संगठन सर्वेसर्वा हुन्छ ।’

उपाध्यायले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि जनमतसंग्रह गरिनुपर्ने टिप्पणी गरे । उनले भने,‘यो मेरो व्यक्तिगत धारणा र भावना हो, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । नेपालमा पछिल्लो समय धर्म परिवर्तन भैरहेको छ । यो पाप हो । दबाब, आर्थिक प्रलोभनमा धर्म परीवर्तन गराउन गलत हो, जसले यस्तो गराउँछ उनीहरुलाई मृत्युदण्ड दिनुपर्छ । नेपाल सनातन धर्म हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्