Logo

लागुऔषध कारोबारीसंग एक अर्बको सम्पत्ति



काठमाडौं, फागुन १५ । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ । लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ ।

उनीसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ । उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ । अनुसन्धान टुंग्याएको विभागले मुद्दा दायरको तयारी गरेको छ । अनुसन्धान फाइल विशेष सरकारी वकिल कार्यालयमा पठाएको छ ।

देवेन्द्र तीनपटक जेल बसेर छुटेका व्यक्ति हुन् । पछिल्लोपटक २३ वैशाख ०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो । त्यसवेला उनीसहित तीनजना एक सय ३६ किलो चरेससहित पक्राउ परेका थिए ।

देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा चरेसको गोदाम राखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो । उनको हङकङ र जापानका बैंकमा खाता रहेको त्यतिवेलै प्रहरी अनुसन्धानमा खुलेको थियो । लागुऔषध कारोबारको पैसा तिनै खातामा जम्मा गर्न लगाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । देवेन्द्र त्यतिवेला दुई वर्ष जेल बसेर छुटेका आजका नयाँपत्रिकामा खवर छ ।



प्रतिक्रिया दिनुहोस्