Logo

नागढुंगा–सिस्नेखोला सुरुङमार्गः धादिङतर्फको पनि काम सुरु हुने



काठमाडौं, फागुन १६ । दुई महिनादेखि सुरु हुन नसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत धादिङतर्फको निर्माण कार्य अब सुचारु हुने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले बल प्रयोग गरी काम सुरु गर्ने तयारी गरेको बेला बिहीबार भएको सम्बद्ध पक्षसँगको छलफलबाट काम सुरु गर्ने सहमति भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए। ‘संघीय संसद्का सांसद भूमि त्रिपाठी, स्थानीयबासी लगायतको छलफलले शुक्रबारदेखि काम सुरु गर्ने सहमति गरेको हो,’ उनले भने।

मुआब्जाको विवाद टुंगोमा नपुग्दा पछिल्लो दुई महिनायता उक्त सुरुङमार्ग अन्तर्गत धादिङतर्फको निर्माण कार्य सुरु हुन सकेको छैन। निर्माण कार्य सुरु गर्न स्थानीयले अवरोध गरेपछि ठेकेदार कम्पनीले साइट क्लियरको माग राख्दै आयोजना कार्यालयलाई पटकपटक पत्राचार गरिसकेको छ।

स्थानीयको विरोधका कारण आयोजनाले मुआब्जा वितरण गरिसकेको १७ रोपनी जमिनमा समेत निर्माण कार्य सुरु हुन सकेको छैन। आयाजनाले सुरुङमार्गका लागि धादिङतर्फ ४४ र काठमाडांैतर्फ दुई सय ६६ रोपनी जमिन अधिग्रहण गर्ने निर्णय गरेको छ।

संघीय संसद्का सांसद भूमि त्रिपाठी, आयोजनाका पदाधिकारी तथा स्थानीयबासीको छलफलमा शुक्रबारदेखि काम सुरु गर्ने सहमति जुटेको हो।
काठमाडौंतर्फ अधिग्रहण गर्ने भनिएको सबै जमिनको मुआब्जा वितरण भइसके पनि धादिङतर्फ भने २७ रोपनी जमिनको अझै मुआब्जा वितरण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। ‘मुआब्जा दिइसकेको जमिनमा समेत काम गर्न नपाउँदा समस्यामा थियौं,’ खरेलले भने। धादिङतर्फको सबै जमिन गुठी संस्थानको हो।



प्रतिक्रिया दिनुहोस्