फागुन १६, काठमाण्डौ । पछिल्लो समयका चर्चित र लोकप्रिय नायक अनमोल केसीले चलचित्रमा अभिनय गर्ने भनि पहिल्यै पेश्की रकम लिएर पछि हटेपछि ठगीको उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो ।
फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । धुपौरेमा केसी खेल्ने चर्चा धेरै अघि भइसकेको थियो । फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।
यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ । यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ । उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।
होस्टेल फिल्मबाट अभिनयमा डेब्यु गरेका अनमोल एकपछि अर्को गर्दै सफल फिल्म दिएका नायक हुन् । पछिल्ला वर्षमा उनी अभिनित फिल्म हेर्न दर्शकको भिड लाग्ने गरेको छ ।