Logo

ओलीलाई हटाउने योजनामा नेकपाभित्र कस्को के स्वार्थ



काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनको पहिलो हप्ता झापा पुगेर आफूलाई हटाउने षड्यन्त्र भएको अभिव्यक्ति त्यसै दिएका होइनरहेछ । नेकपाभित्र विकसित घटनाक्रमले ओली हटाउने डिजाइन भएको तथ्य खुल्दै गएको छ ।

झण्डै दुई तिहाई पुगेको सरकारका शक्तिशाली प्रधानमन्त्री ओली दुई वर्षमा दरिलो रुपमा देखापरे । तर, दुई वर्ष कार्यकाल कटेलगत्तै डगमगाउन थालेका छन् । उनका निकटस्थहरुमाथि एकपछि अर्को प्रहार भइरहेको छ । ओलीमाथि एकपछि अर्को आक्रमणमा नेकपाभित्रकै प्रभावशाली नेताहरुको भूमिका रहेको बुझ्न सकिन्छ ।

गोकुल बाँस्कोटाले आफूलाई टेपकाण्डमा फसाउन विजयप्रकाश मिश्र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मान्छे भनी संकेत गरेका छन् । उनले अदालतमा मिश्रविरुद्ध मुद्दा दायर गर्दा दुई ठाउँमा प्रचण्डको नाम उल्लेख गरी निकटता देखाउन खोजेका छन् । ओली निकटस्थ व्यापारिक घरानामाथिको पछिल्लो आक्रमणमा पनि प्रचण्ड पक्षधरकै भूमिका रहेको चर्चा ओली पक्षमा हुन थालेका ेछ । ओलीलाई अप्ठ्यारोमा पार्न प्रचण्डले नै एकपछि अर्को अस्त्र छाडेका छन् । पछिल्लो समय वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयमा पनि प्रचण्डको मुख्य भूमिका रहेको छ ।

प्रचण्डले पाँच वर्षका लागि ओलीलाई प्रधानमन्त्रीमा स्वीकारेर नेकपाभित्र कार्यकारी अध्यक्षको अधिकार प्राप्त गरेका छन् । तर, उनी ओलीलाई पूर्ण कार्यकाल सरकार चलाउन दिने पक्षमा छैनन् भन्ने देखिन्छ । प्रचण्ड आफै शक्तिशाली प्रधानमन्त्री बन्ने दौडमा छन् । त्यसका लागि उनी ओलीको बर्हिगमनको प्रतिक्षामा छ । यसमा उनी आफै प्रत्यक्ष रुपमा नलागेको देखिएपनि गोटी चालिरहेका छन् ।
ओलीलाई वरिष्ठ नेता झलनाथ खनालले साथ दिएका छैनन् । एमसीसीविरुद्ध खनाल उभिएका छन् । यतिसम्मकी वामदेवलाई राष्ट्रियसभामा लानैपर्नेमा उनको पनि जोडबल रह्यो । पार्टीको निर्णय ओलीले पनि मान्नुपर्ने भन्दै कारबाही सम्म हुने बताइरहेका छन् । ओलीलाई कमजोर पार्न खनाल लाग्नुमा भविष्यमा राष्ट्रपति बन्ने चाहना लुकेको छ । उनी गएको संसदीय चुनावपछि राष्ट्रपतिको उम्मेदवार बन्न चाहन्थे । तर, ओलीका कारण रोकिए । आगामी चुनावपछि उनको राष्ट्रपति बन्ने दाउ देखिन्छ ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपाल ओलीसँग तत्कालिन नेकपा एमालेको अध्यक्षको चुनाव लडेका हुन् । ओलीसँग उनको सम्बन्ध निकै चिसिएको थियो । बालुवाटारमा दुवै नेताबीच भनाभन समेत भयो । ओलीले नेपाललाई गम्भीर आरोप लगाए । ललितानिवास प्रकरणमा आफूलाई मुछ्नुमा ओलीको रणनीति रहेको नेपालको बुझाई रहेको छ । उनी ओली कमजोर भएमा पूर्व एमालेबाट आफू बलियो हुने देखिरहेका छन् । नेपाल प्रधानमन्त्रीका प्रबल दाबेदार पनि हुन् । उनलाई ओली विरोधीले प्रधानमन्त्रीका लागि तयार हुन भन्दै आएका छन् ।

वामदेव गौतमले एकपछि अर्को बाजी मारे । उनी उपाध्यक्ष बनाइए । यसका लागि नेकपाको विधान नै संशोधन भयो । आफूलाई चुनाव हराएकोमा गौतमले ओली पक्षलाई दोष लगाएका थिए । उनी यसको उचित जवाफ दिने प्रतिक्षामा छन् । राष्ट्रियसभामा मनोनित हुने नेकपा सचिवालयको निर्णयपछि उनले संविधान संशोधनको चाहना समेत देखाएका छन् । यहीबीच प्रधानमन्त्रीको दाबेदार बन्ने उद्देश्य राखेका छन् । त्यस अवस्थामा उनी पूर्व एमालेबाट नेकपाभित्र सबैभन्दा प्रभावशाली बन्न सक्ने देखिन्छ । तर, गौतमको यही महत्वाकांक्षाले नेकपाभित्र तरंग आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्