काठमाडौं, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनको लागि आफू राजीनामा दिन तयार रहेको स्पष्ट पारेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्याकुरेलले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपतिले मनोनित गर्ने कोटामा वामदेव प्राविधिक रुपमापनि अयोग्य हुने दाबी गरे । उनले भने,‘यो त विज्ञ जाने कोटा हो । यसमा वामदेवजी जान मिल्दैन् ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नुपर्ने भनेर कहीँपनि नलेखेको जिकिर गरे । अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीचको सहमतिअनुसार पनि पार्टी दाहालले सञ्चालन गर्ने र सरकार ओलीले चलाउने कुरा भैसकेको उनको भनाई छ ।