फागुन १७, काठमाण्डौ । एसीसी इस्टर्न रिजन पुरुष टी ट्वान्टी कप क्रिकेटको उपाधि जित्ने लक्ष्य लिएको नेपालले खराब सुरुवात गरेको छ । थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।
टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८–३८ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागि दुवैले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । तर, पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन । तुलनात्मक रुपमा नेपालभन्दा कमजोर मानिएको मलेसियासँग नै नेपालको हारलाई अप्रत्यासित मानिएको छ ।
मलेसियाका शार्भिन मुनिन्डेले ४ विकेट लिए । खिजार हायत, पवनदिप जगजित सिंह र इजाद इद्रुसले २–२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए ।
यस्तै अविनाश बोहराले २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो । अब नेपालले आइतबार हङकङसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत नै शनिबार सिंगापुरले थाइल्याण्डलाई हराएर विजयी सुरुवात गरेको छ । प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङ रहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।