फागुन १७, काठमाण्डौ । गित राम्रो गायकै कारण निर्णायकहरु स्टेजमै गएर प्रतिस्पर्धीलाई स्याबास भन्दै हौसला दिएको दृश्य विरलै देख्न पाइन्छ । त्यस्तो अपवाद दृश्य शुक्रबार नेपाल आइडलमा देखियो ।
प्रतिस्पर्धी थिए प्रविन बेडुवाल । निर्णायहरु चिरपरिचित अनुहारहरु न्यू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी । प्रविनले स्वर सम्राट नारायण गोपालले गाएको तिम्रो जस्तो मुटु बोलको गित गाएका थिए ।
प्रविनले यसरी गित गाए कि निर्णायहरु मात्रै होइन, हेर्ने सबै मन्त्रमुग्ध भए । प्रविनले गित गाइसकेपछि अतिथी गायक मुक्तिसँगै सबै जज, अन्य प्रतिस्पर्धी र हलमा उपस्थित दर्शकले उठेर गडगडाहट तालीले सम्मान व्यक्त गरे ।
यतिले मात्रै निर्णायकहरुको चित्त बुझेन र आ–आफ्नो ठाउँबाट उठेर स्टेजमै गए र प्रविनलाई पालैपालो अंगालो हालेर राम्रो गित गाएको भन्दै हौसला बढाए ।
प्रविनले यो हप्ताको उत्कृष्ट प्रतिस्पर्धीको पुरस्कार पनि पाए । प्रविनले यो हप्ता मात्रै होइन, विगत श्रृखलामा पनि उत्कृष्ठ प्रस्तुती दिइसकेका छन् । जसले निर्णायकदेखि दर्शक श्रोतासम्मलाई मन्त्रमुग्ध बनाइदिएका छन् ।
बर्दियाका प्रविनले उ जितेर गई या हारेर गई गीत गाउँदा जज कालिप्रसाद बास्कोटा झण्डै पागल भएका थिए । अर्की जज इन्दिरा जोशीले आङ नै सिरिङ्ग भएको प्रतिक्रिया दिइन् ।
के भूल भयो प्रिया गाउँदा उनै बास्कोटाले उस्तादको संज्ञा दिएका थिए । गेस्ट जज जेम्स प्रधानले प्रविनले गाएको सुन्न पाउँदा आफ्नो दिन राम्रो भएको प्रतिक्रिया दिएका थिए । न्यू बज्राचार्यले त सबै प्रतियोगिका लागि प्रविन चुनौति भएको भन्दै स्ट्याण्डिङ ओभियसन दिए ।
यसपटकको नेपाल आइडलमा उनले मेलोडि किङको उपाधी पाइसकेका छन् । नरेन्द्र प्यासीको के भूल भयो प्रिया बोलको गित गाउँदा होस वा भक्तराज आचार्यको यतिसम्म प्रित गरी गरी बोलको गित गाउँदा त निर्णायकहरु नतमस्तक नै भएका थिए ।
गेस्ट अतिथिको रुपमा आएका अभया सुब्बादेखि नियमित निर्णायक तीनै जनाले उभिएर सम्मान दिएका थिए । यही गित गाउँदा न्यू बज्राचार्यले त प्रविनले गित गाएको नभै तपस्या गरेको र आफूहरुलाई धर्म प्राप्ति भएको प्रतिक्रिया दिएका थिए ।
यसअघिको श्रृखलामा प्रविनले आफूले गाउँदै आएको शैलीको गितबाट जम्प गरेर नेपथ्यको रक गित गाएका थिए । पल्ला घरका बोलको उक्त गित गाउँदा उनको प्रस्तुति पनि दमदार थियो ।
प्रविन उत्कृष्ठ १६ भित्र परेपछि पटक पटक पर्फमर अफ द डे भइसकेका छन् । वास्तवमै उनी यसपटकको नेपाल आइडल बन्न योग्य भएर देखा परेका छन् ।
प्रविनसँगै यस पटकको नेपाल आइडलको दाबेदारको रुपमा उत्कृष्ट ७ भित्र किरणकुमार भुजेल, सज्जा चौलागाई, नेशन पुन मगर, मुस्कान रानाभाट, मेघा श्रेष्ठ र केभिन ग्लान तामाङ परेका छन् । यो हप्ता रचना रिमाल दर्शकको भोट कम पाएका कारण बाहिरिइन् ।
दर्शकको भोटका आधारमा अघिल्लो चरणमा प्रवेश गर्ने र बाहिरिने नियम छ । त्यसैले उत्कृष्ठ गायन क्षमता भएका प्रविनलाई भोट गर्नुहोला ।