काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि महिलाको मृगौला पाउने भएका छन् । यसअघि उनले बुहारी नाता पर्ने अन्जना घिमिरेको मृगौला प्रत्यारोपण गरेका थिए ।
अन्जनाको मृगौलाले ओली झण्डै १४ वर्ष सक्रिय जीवन बिताउन सके । तर, पछिल्लो समय प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि उनी डायलासिस गर्दै आएका छन् ।
ओलीलाई यसपटक पनि महिलाले मृगौला दिने भएकी छिन् । उनी ओलीकी नजिककी नातेदार हुन् । उनको नाम गोप्य राखिएको छ । ओलीसँग मृगौला म्याच भएपछि ती महिलाको मृगौला प्रत्यारोपण गर्ने टुंगोमा चिकित्सक पुगेका हुन् । विश्वस्त स्रोतका अनुसार ती महिला ३० वर्ष मुनीकै छिन् । यसअघि ओलीले अन्जना घिमिरेको मृगौला प्रत्यारोपण गर्दा उनी २१ वर्षकी थिइन् ।
ओलीलाई मृगौला दिन उनका धेरै आफन्तहरु तयार भएका थिए । त्यसमध्ये एक महिलालाई छनोट गरी लामो परीक्षणपछि तयार गरिएको हो । मृगौला प्रत्यारोपणका लागि नजिकको आफन्त हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।
ओलीले यसअघि भारतमा मृगौला प्रत्यारोपण गरेकामा यसपटक देशभित्रै गर्ने बताइएको छ । मृगौला प्रत्यारोपणका लागि उनी बुधबार अस्पताल भर्ना हुने भएका छन् ।-File Photo