Logo

प्रचण्डले के भनेका थिए ? जसका कारण भयो जुत्ता प्रहार



फागुन १८, काठमाण्डौ । नेपालमा राजनीतिक दल र तिनका नेताहरुप्रति वितृष्णा दिनप्रतिदिन बढ्दै गएको छ । यसको पछिल्लो उदाहरण हो नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर जुत्ता प्रहार । यसअघि पनि नेताहरुमाथि जुत्ता प्रहार देखि झापड हान्नेसम्मका घटना भइसकेका छन् । यद्यपी यसरी भौतिक रुपमा उत्रिनु कानुनसम्मत होइन

आइतबार राष्ट्रिय सभागृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवस कार्यक्रम थियो । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले करिब १८ मिनेट सम्बोधन गरे । उनको सम्बोधन अवधिभर सभागृहको अवस्था समान्य थियो । तर बज दाहालले सम्बोधन सकेर आसन ग्रहण गर्न जाँदै थिए, एक्कासी उनीतिर जुत्ता प्रहार भयो । तर उक्त जुत्ता दाहालसम्म पुगेन । प्रहरीले तत्काल जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लियो ।

नियन्त्रणमा लिइएका व्यक्ति अर्थात दाहाललाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतनले आफू पूर्वमाओवादी लडाकु मोहन तिरुवाका छोरा भएको प्रहरीसमक्ष बताएका छन् । जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाका पिताले तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएको उनको दावी छ । तर उनको दावी अहिलेसम्म पुष्टि भने भएको छैन । जुत्ता प्रहार गर्ने तिरुवाले दाहालले सम्बोधनका क्रममा वर्ग संघर्षको कुरा गरेको मन नपरेर रिस उठेको बयान प्रहरीलाई दिएका छन् । जनयुद्धकालमा भनेको र अहिलेको व्यवहारमा समानता नभएकाले आक्रोष उत्पन्न भएको तिरुवाको भनाई छ ।

सम्बोधनका क्रममा अध्यक्ष दाहालले पछिल्लो समय पुजिँपतिहरुले मध्यमवर्गलाई जति ध्यान दिनुपर्ने हो त्यति नदिएको बताएका थिए । कम्युनिष्टहरुले नै विलासीहरु बन्दै गएको टिप्पणी हुन थालेको दाहालले बताएका थिए । मध्यमवर्गका जतनालाई साम्राज्यवादीहरुले फकाएर आफूतिर तान्ने प्रयास गरिरहेको दाहालको तर्क थियो ।

दाहालले नेताहरुको व्यवहार र आचरणलाई जनतासंग जोड्नुपर्ने बेला आएको पनि बताएका थिए । अदाहालले अहिले नेता र पार्टीबीच अर्काका कुरा सुन्न सक्ने र सुन्न नसक्ने दुवै प्रवृति देखा परेको पनि बताएका थिए । सम्बोधनका क्रममा उनले भरतमोहन अधिकारी अरुका कुरा सुन्न सक्ने, आलोचनाहरुलाई महत्व दिने र मिठो भाषामा टिप्पणी गर्न सक्ने नेताका रुपमा स्मरण गरेका थिए ।

पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध रहेको अनुमान गरिएको छ । यद्यपी उनको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्