एजेन्सी, १९ फागुन । २२ वर्ष मलेशियामा शासन गरेका महाथिर मोहम्मदले देशलाई विकासको गतिमा बढाएपछि सन् २००३ मा सन्यास लिएका थिए । फेरि राजनीतिमा फर्कदैनन् भन्ने धेरैलाई लागेको थियो । तर, उनले सबैलाई आश्चर्यचकित बनाएर सन् २०१६ मा राजनीतिमा फर्किए । महाथिर चुनाव लडेर प्रधानमन्त्री बने ।
राजनीतिमा फर्किएर प्रधानमन्त्री बनेका उनले गत हप्ता पदबाट राजीनामा दिए । संसदमा अल्पमतमा परेपछि पदबाट राजीनामा दिएका उनको साटो मुहिद्धिन यासिनलाई मलेशियाका राजाले शनिबार प्रधानमन्त्री नियुक्त गरे । यासिन महाथिरकै पूर्व सहयोगी थिए । जसलाई उनले धोकेवाज भनेका छन् ।
महाथिर ९४ वर्षका भए । उनी प्रधानमन्त्री बन्दा किर्तिमान बनाए । अहिलेसम्म ९४ वर्षमा प्रधानमन्त्री कुनै देशमा बनेको रेकर्ड छैन । राजीनामा दिएपनि उनी फेरि प्रधानमन्त्री बनेर फर्कनसक्ने सम्भावना छ ।
यासिनलाई सही व्यक्ति प्रधानमन्त्री नभएको तर्क गरेका छन् । त्यसैले मलेशियामा प्रधानमन्त्रीको खेल अझै सकिएको छैन । यासिनले छिट्टै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था हुनसक्छ ।
सन् १९२५ मा जन्मिएका महाथिर पेशाले चिकित्सक थिए । डाक्टर बनेर काम गरेका उनी दोस्रो विश्वयुद्धताका राजनीतिमा संलग्न भएका थिए । लामो राजनीतिक अनुभवपछि सन् १९८१ मा प्रधानमन्त्री बन्दा ५६ वर्षका थिए । २२ वर्ष शासन गरेर राजनीतिबाट सन्यास लिए । त्यतिबेला गरिब मुलुक मलेशिया समृद्ध बनिसकेको थियो । २००३ मा पद छाडेपनि सन् २०१६ मा फेरि राजनीतिमा आए । सत्तारुढ दल छाडेर नयाँ दल शुरु गरे । त्यतिबेला आफ्ना पूर्व विरोधी अनबर इब्राहिमसँग हातेमालो गरेर सँसारलाई चकित पारेका थिए । चुनावबाट तत्कालिन प्रधानमन्त्री नजिबलाई हटाए । उनी प्रधानमन्त्री बनेर सुधारका कार्यक्रम ल्याए ।
महाथिरसँग अब लामो राजनीतिक जीवन त छैन तर उनी अझै स्वस्थ र प्रभावशाली छन् । मलेशियालीहरु उनलाई निकै सम्मान गर्छन् । त्यसैले राजनीतिमा फेरि पाइला हालेर नयाँ दल खोलेर पनि जित हासिल गर्दै प्रधानमन्त्री बनेका थिए । उनी फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् ।