काठमाडौं, २० फागुन । मदन पुरस्कार विजेता महेशविक्रम शाहविरुद्ध १०३ प्रहरीको तलबभक्ता लिएर अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी नेपाल प्रहरीको डिआइजी भई भरतपुर तालिम केन्द्रमा हुँदा अनियमितता गरेको अभियोगमा अख्तियारले आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार शाह तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा हुँदा सरुवा भइसकेका जवानहरुको तलब भत्ता निकाली खाएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको हो । डिआइजी शाहले २७ वैशाख २०७२मा प्रहरी जवान पदमा नयाँ भर्ना भई सोही वर्ष २२ पौषमा तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको ११ माघ २०७२ को पत्रले माघ महिनादेखिको तलवरभत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएकोमा उक्त तालिम केन्द्रका समादेशक महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकाली खाई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरु दोषी पाइएकाले मुद्दा दायर गरिएको हो
। शाहसहित निरीक्षक दिपेन्द्र प्रसाद पनेरु तथा लेखा सहायक केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रले माघ महिनाको तलवरभत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता रु. ३१,८८,४६८ र मिति २०७२।१०।१८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलवर भत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको दुई दिनको बढी एक लाख उनन्चास हजार छ सय सोह्र रुपैयाँ अठासी पैसा० गरी तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा तलव भत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाई नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएको जनाइएको छ ।
उनीहरुमाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।