Logo

जनतासामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने सांसद श्रेष्ठको दृढता



काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताएका छन् । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको बैठकमा बोल्दै उनले भने, “छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको छ, सरकारले स्थायित्व पाएको छ, राजनीतिक सङ्क्रमण अन्त्य भएको छ, नयाँ संविधान बनेको छ, अब सङ्घर्ष गर्न परेको छैन, अब स्थिरता छैन भन्न पाइँदैन ।”

सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्नेतर्फ अघि बढेको उल्लेख गर्दै उनले सरकारले पहिलो वर्ष आधार र दोस्रो वर्ष कार्यान्वयन वर्षका रुपमा अगाडि बढाएको बताए । “स्वतन्त्र परराष्ट्र नीति, वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै सरकार अघि बढेको छ”, उनले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनले विस्तारै गति लिँदै गएको छ ।”

सीमा अतिक्रमण रोकी नेपाली भूमि फिर्ता गराउने र राष्ट्रियताको सवालमा सबै शक्ति मिलरे एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको रक्षा, अभ्यास र विकासमा सबैको एकमत हुनुपर्ने बताए । मुलुकको समृद्धिका लागि अपार सम्भावना भएको उल्लेख गर्दै उनले ती सम्भावनाको समुचित प्रयोग गरिनुपर्नेमा जोड दिए ।

“समृद्ध नेपाल, सुखी नेपाली बनाउनु, समाजवाद निर्माण गर्नु अहिलेको आवश्यकता हो”, सांसद श्रेष्ठले भने, “नेपाललाई सभ्य, सुसंस्कृत र समृद्ध मुलुकमा रुपान्तरण गर्नु हो । नयाँ ढाँचाको आर्थिक विकास र सामाजिक न्यायमार्फत समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुनै आजको आवश्यकता हो ।”

अपार सम्भावनायुक्त मुलुक भए पनि लाखौँ युवा विदेशमा पसिना बगाउन बाध्य भएको उल्लेख गर्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । सांसद श्रेष्ठले कमीकमजोरी सच्याउँदै अघि बढ्ने, जनताको सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे । सबै मिलेर सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सहमति र सहकार्यका आधारमा काम गर्न प्रमुख प्रतिपक्षसँग आह्वान गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्