काठमाडौं, फागुन २२ । कसिलो मौद्रिक नीतिको कारण सवारी साधनको बिक्री घटेको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा साढे चार अर्ब रुपैयाँ कमका सवारी साधन आयात भएका छन् ।
भन्सार विभागका अनुसार यो वर्षको माघसम्म ५२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँका सवारी साधन तथा पार्टपुर्जा आयात भएका छन् ।
पोहोर सोही अवधिमा ५६ अर्ब ९८ करोड ११ लाख रुपैयाँका सवारी आयात भएको थियो । यो तथ्याकं हेर्दा पोहोरको तुलनामा चार अर्ब ६३ करोड ३६ लाख रुपैयाँको सवारी साधन कम आयात भएको देखिन्छ ।
विगतमा खरिद गरेका सवारी साधनको मर्मत गर्न पार्टपुर्जा प्रर्याप्त आयात भए पनि सवारी साधनको आयात स्वाट्टै घटेको छ । अन्यको तुलनामा विद्युतीय सवारीको आयात भने बढेको छ ।
अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार सवारी खरिद गर्दा तिर्नुपर्ने डाउन पेमेन्टको सिमा ६५ बाट घटाएर ५० प्रतिशत र कर चुक्ताको प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि सवारी किन्नेको संख्या घटेको छ । सवारी आयात २० प्रतिशत र सवारी बिक्री ५० प्रतिशत घटेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताएको आजको नागरिक दैनिकमा खवर छ ।