काठमाडौं, २२ फागुन । हाटा अर्थात् हाजिरी लगायो अनि टाप कस्यो । सरकारी कर्मचारीहरुमा यो तरिका धेरै छ । तर, जनप्रतिनिधिहरु यसमा अगाडि देखिनथालेका छन् ।
सांसद तथा राष्ट्रियसभा सदस्यहरु सदनको बैठकमा उपस्थित नहुने गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विधेयकहरु स्वीकृत हुने प्रक्रिया अवरुद्ध भएको छ । अधिकांश सांसदहरु संसदमा उपस्थित नहुने र उपस्थित भएकाहरु पनि हाजिर गरेर भत्ता पकाउँदै टाप कस्न थालेपछि विधेयकहरु स्वीकृत हुने प्रक्रिया अवरुद्ध भएको हो ।
सांसदहरु जिम्मेबार नभएपछि संसद बैठक पटक पटक कोरम नपुगेर स्थगित हुने गरेको छ । फागुन १३ गते प्रतिनिधिसभा बैठकमा १ सय ८१ सांसदले हाजिर जनाएका थिए । तर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक विचार गरियोस् भन्ने प्रस्ताव संख्या नपुगेकै कारण अगाडि बढ्न सकेन । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले संसदमा आवश्यक संख्यामा सांसद नरहेको उल्लेख गर्दै नियमापत्ति जनाएपछि उक्त दिनको बैठक स्थगित भयो ।
संविधानको धारा ९४ मा संसदमा कुनै पनि विधेयक वा प्रस्ताव निर्णयार्थ पेश हुनका लागि कम्तिमा एक चौथाई सांसद उपस्थित हुनुपर्ने प्राबधान छ । अर्थात् २७५ सदस्यीय प्रतिनिधिसभाको ६९ जना सांसद उपस्थित नभए प्रतिनिधिसभामा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश हुन सक्दैन । तर पछिल्ला केही बैठकहरु कोरम नपुगेका कारण स्थगित भएका छन् । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सदनमा सत्तारुढ सांसदहरुको उपस्थिति अत्यन्तै न्यून हुने गरेको आरोप लगाउनुभयो ।
तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रियसभा सदस्य दिनानाथ शर्मा यो आरोप स्वीकार गर्ने पक्षमा हुनुहुन्न । उहाँले सदनको कारबाही तदारुकताका साथ अघि बढाउन सत्ता पक्ष र प्रतिपक्ष उत्तिकै जिम्मेबार रहनुपर्ने बताउनुभयो ।
फागुन १५ गते बसेको प्रतिनिधिसभाको बैठकमा पनि १७२ जना सांसदले हाजिर जनाएका छन् । तर गणपुरक संख्या नपुगेपछि उक्त दिनको बैठक पनि स्थगित भयो । १ सय ७२ जना सांसदहरुले हाजिर जनाएपछि संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तयारी गर्दा ५८ जना सांसद मात्रै बैठकमा उपस्थित भेटिए ।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले प्रतिपक्षीलाई गाली गर्ने बेला र अदालतका विचाराधीन मुद्दा प्रभावित पार्ने कुरा गर्दा मात्रै सत्तारुढ सांसद सदनमा आउने गरेको आरोप लगाउनुभयो ।
प्रस्ताव निर्णयार्थ पेश गर्दा गणपुरक संख्या नपुगे पनि हाजिर लगाएर कुलेलम ठोक्ने सांसदहरुको संख्या भने ठूलो छ । बुधबार मात्रै राष्ट्रियसभा सदस्यको शपथ लिनुभएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने विरोधवादको खतराबाट बच्नुपर्ने बेला आएको बताउनुहुन्छ । राष्ट्रिय मुद्दामा सबैले मिलेर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।
सदनमा हाजिर गर्ने र कुलेलम ठोक्ने सांसदहरुको खराब प्रवृत्ति बढ्दो छ । नेतृत्वले अनुशासनको पालना गराउन नसकेका कारण सदनका बैठकले दयनिय अवस्था भोग्नुपरेको विश्लेषक सुरेन्द्र केसीको टिप्पणी छ । उहाँले भत्ता पकाउन मात्रै बैठकमा हाजिर हुने सांसदहरुलाई जनताले चिन्नुपर्ने बताउनभयो ।
सांसदहरूले हाजिर गरेपछि प्रति बैठक एक हजार रूपैयाँ भत्ता पाउँछन् भने एक हजार रूपैयाँ यातायात सुविधा पाउँछन् । तर संसद बैठकमा सांसदहरु उपस्थित नै नहुनु र भएकाहरु पनि भत्ता पाके लगत्तै बाहिरिनु मुलुककै लागि लज्जाको विषय हो ।-रेडियो एनआरएनबाट