मुम्बई, फागुन २३ । बलिउड अभिनेता शाहरूख खान डेढ वर्षपछि फिल्ममा फर्कने भएका छन् । गत वर्ष आफ्नो फिल्म ‘जिरो’ व्यावसायिक रूपमा पूर्ण असफल भएपछि उनले केही समय फिल्म नगर्ने बताएका थिए । तर, अब भने उनले फिल्ममा अभिनय गर्ने भएका छन् ।
यतिबेला अभिनेता शाहरूख खान र निर्देशक राजकुमार हिरानी नयाँ फिल्मको तयारीमा जुटेका छन् । हिरानीको फिल्मको स्कृप्ट आफूलाई मन परेको र उनीसँग काम गर्ने चाहना भएको पनि शाहरूखले बताएका छन् । तर, हिरानीको फिल्ममा आफ्नो एग्रिमेन्ट हुन बाँकी रहेको यी अभिनेताको कथन छ ।
निर्देशक हिरानीले शाहरूखलाई नयाँ फिल्मको लागि करिना र काजोलमध्ये जो नायिका राख्दा पनि हुने बताएका छन् । यी दुईबाहेक अरू नायिकालाई यो फिल्ममा लिँदा हुने पनि यी निर्देशकले शाखरूखलाई बताएका छन् । तर, आफूले हिरानीको फिल्ममा काम गर्दा कुन नायिकालाई लिने भन्ने निर्णय शाहरूखले गरेका छैनन् ।
अभिनेत्री करिनाले पनि निर्देशक राजकुमार हिरानीले नयाँ फिल्म बनाउन लागेको बताए पनि आफूलाई शाहरूखको नायिकाको रूपमा प्रस्ताव नगरेको प्रस्ट पारेकी छन् ।
शाहरूखसँग आफूले काम गर्न चाहेको पनि करिनाको भनाइ छ । प्रस्ताव आयो भने आफूले हिरानीको फिल्ममा काम गर्ने पनि यी अभिनेत्रीको कथन छ । शाहरूख फिल्ममा फर्कन लागेकोमा करिनाले खुसी व्यक्त गरेकी छन् ।