काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्रा.डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अपेक्षित सुधार रहेको स्पष्ट पारेका छन् । यद्धपी उनले प्रधानमन्त्री ओलीले भोलि नै काममा फर्कने भन्ने नभएको सुनाए । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्ु’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरेको मृगौलाले राम्रोसँग काम गरेको पनि सुनाए । उनले भने,‘त्यसले गर्दा उहाँमा सुधार देखिइराखेको हो । उहाँले लिकुइड खाने कुरा झोल पदार्थ खानुभएको छ । संवाद त अस्ति अप्रेसन सकिएको साँझबाटै शुरु भएको थियो । उहाँ मजाले बस्ने खाना खान सक्ने गफगाफ गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’
डा. ज्ञवालीले यस्तै खालको सुधार प्रधानमन्त्री ओलीमा हुँदै गयो भने सायद आइतबार वा सोमबारसम्ममा डिस्चार्ज हुने सम्भावना रहेको उनले सुनाए । प्रधानमन्त्री ओलीलाई पहिलाको जस्तै काम फर्कनका लागि कति समय लाग्छ ? भनेर पत्रकार धमलाले सोधेको अर्को प्रश्नमा उनले भने,‘उहाँले सामान्य काम त अब एक/दुई हप्ताबाट गर्न सक्नुहुन्छ । उच्च मनोबल भएको मानिसलाई काममा नफर्कनुभन्दा पनि कमजोरी फिलिङ हुन्छ । तर उहाँ साधारणतय ३ हप्तामा रेगुलर काम फर्कन सक्नुहुन्छ ।’