काठमाडौं, २३ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबीच आज भेटवार्ता भएको छ । राजदूत क्वात्राले छिमेकी मुलुक भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको स्पष्ट पारेका छन् ।
उनले वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भनेर भारतले निष्कर्ष निकालेको पनि सुनाएका थिए । त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गरे । विशेष गरी लामो समय अलपत्र अवस्थामा रहेको अरुण तेश्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा राजदूत क्वात्राले खुसी व्यक्त गरे ।
अरुण तेश्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धा्रित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गरे ।
यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।