Logo

वामदेवलाई ईश्वर पोखरेलको प्रश्न : के अभिष्ट प्राप्त गर्न राष्ट्रिय सभामा जाने ? (भिडियोसहित)



काठमाडौं, २५ फागुन । उपप्रधान तथा रक्षामन्त्री एवम् नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई आफूले नै काँस्कीबाट चुनाव लड्न प्रस्ताव गरेको खुलासा गरेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले वर्तमान सरकारले जनताको म्याण्डेट लिएर बनेकोले राजनीतिक अस्थिरता नबन्नेसमेत बताएका छन् ।

उनले भने,”हिजो निर्वाचनमा पराजित हुनुभएका नेताहरु, जो संसदमा हुनुहुन्न । अलिक अलग अलगजस्तो देखियो । हाम्रो सचिवालय बैठकमा पनि हिजो प्रतिनिधिसभामा पराजित भएपनि राष्ट्रिय सभामा ल्याउँ भन्ने कुरा उठ्यो । यो प्रस्ताव चाहीँ अध्यक्ष प्रचण्डले ल्याउनुभएको थियो । केपी ओलीले पनि नर्मल कोर्सबाट आउने हो भने ठिकै छ भन्नुभएको थियो । वामदेव कमरेडले पार्टीभित्र राष्ट्रिय सभा सदस्यपनि प्रधामन्त्री बन्नेगरि संविधान संशोधन भए म जान्छु नत्र जान्न भन्नुभएको थियो । त्यसो हुँदा त्यो शर्त राखेर जान उचित हुँदैन भन्ने भयो । संविधान संशोधनको यावत विषयहरु छन् । त्यही विषयमा संविधान संशोधन गर्ने हो भने यहाँभन्दा हाँस्यस्पद कुरा के हुन्छ ? भन्ने कुरापनि छलफल भयो ।”

तर, पछिल्लो समय शर्त नराखिकनपनि वामदेव गौतम राष्ट्रिय सभामा जाने कुरा भएको नेता पोखरेलले सुनाए । उनले स्मरण गराए,”तर, त्यो विषय चाहीँ अलिक राम्रो ढंगले छलफल गरेर अगाडि आउन सकेन् । बास्तवमा राष्ट्रिय सभामा नेताहरु जाने कुरा त्यसबेला पार्टीले, जसरी आएको भएपनि हुँदैन भनेको होईन् । तर, कस्तो देखियो भने पहिले एउटा विशाल शर्त राखेर, यो हुनेभयो भनेमात्रै जाने, त्यो विषय बाहिर आएको छ । पछि चाहीँ अब शर्तरहित पनि जाने ? कस्तो कस्तो देखिन्छ ? एउटा नेताको लागि र एउटा पार्टीको लागि कस्तो देखिन्छ ? के अभिष्ट प्राप्त गर्न जाने भन्ने प्रश्न त उठ्छ नि । त्यसकारण त्यो विषय बाहिरै आएको छ । राष्ट्रिय सभामा जाने प्रसँगमा । अहिले तत्काल त्यो विषय चाहीँ स्थगन् छ । जहाँ छ, त्यहीँ छ ।

उनले वामदेवलाई राष्ट्रिय सभामा लैजाने विषय नेकपाको सचिवालय बैठकमा स्वभाविक ढंगले नआएको पनि दाबी गरे । उनले थपे,”सचिवालयमा त्यो विषय स्वभाविक हिसाबले आएन् । तर, आईहाल्यो । कतिपय विषय हुन्छ नि, आईहाल्यो अनि आएपछि गईहाल्यो । तर, सबै कुरा विचार गर्नुपर्छ । त्यसका प्रभाव, परीणाम र असरपनि हेर्नुपर्छ । विचार गर्नुपर्छ । कुनै नेतालाई छेक्ने कुरा त होईन । तर, कुराको उठान ठिक ढंगले भएन् ।”

उनले आफूहरुले त वामदेव गौतमलाई प्रतिनिधिसभाको निर्वाचनमा लडाउन चाहेको पनि खुलासा गरे । पोखरेलले स्मरण गर्दै भने,”मै प्रस्ताव हुँ, वामदेव कमरेडलाई काँस्कीबाट चुनाव लडनुपर्छ भन्ने । त्यो स्वभाविक हुन्छ । तपाई रोल्पा, बैतडी, अन्त नजानुहोस्, बाँके नजानुहोस, काठमाडौं ७ का रामवीर मानन्धरलाई हटाएर जाने कुरा नगर्नुहोस् भनेर मैले भनेको हुँ । कुनै प्रतिनिधिसभा सदस्य, त्यो पनि जितेको सदस्य, त्यो उसको मौजा हुन्छ ? अनि उसले छोड्दिने र अनि फलाना जाने ? भोलि कुनै सिट खाली हुँदा प्राथमिकता त नेताले नै पाउने हो । कोही पनि नेताहरु उठ्न सक्नुहुन्छ ।” उनले नेता गौतमजस्तो नेता यो मुलुकको लागि प्रधानमन्त्री बन्ने कुरा अस्वभाविक पनि नभएको जिकिर गरे । तर, त्यसको लागि उनले प्रतिनिधिसभाको निर्वाचन जितेर आउन सुझाएका छन् । त्यसको लागि स्वभाविक कोर्सबाट जानुपर्ने आफूहरुको अडान रहेको उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्