Logo

बन्द हुने अवस्थामा हिंसापीडित आश्रयस्थल



रोल्पा, २५ फागुन : जिल्ला सदरमुकाम लिवाङमा रहेको हिंसापीडित महिला तथा बालबालिका अल्पकालीन आश्रयस्थल अर्थाभावले बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७३ मा स्थापना भएको सो आश्रयस्थल सञ्चालन गर्न अर्थाभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । न्यायका लागि सदरमुकाम आउने हिंसापीडित महिला र बालबालिकाको लागि आश्रयस्थल अति प्रभावकारी बन्दै आएको थियो ।

साविकको महिला तथा बालबालिका कार्यालयको सहजीकरणमा सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको सो आश्रयस्थल पछिल्लो समय कसरी सञ्चालन गर्ने भन्ने अन्योल बढ्दै गएको छ । हालसम्म ३१२ ले आश्रय लिइसकेका छन् । तीमध्ये आठ पुरुषसमेत रहेको सहकारी संस्थाले जनाएको छ । बीसदेखि ४९ वर्ष उमेर समूहका हिंसापीडित भएर आश्रय लिएको देखिन्छ । सो उमेर समूहका २०२ जनाले सेवा लिएका छन् । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ५१ र ४९ देखिमाथि उमेर समूहका ५९ जनाले यो सेवा लिएको संस्थाका सचिव भावना शर्माले जानकारी दिए ।

जातिगतरूपमा सबभन्दा धेरै दलित हिंसाबाट पीडित भएर आश्रय लिन आएको देखिन्छ । ब्राह्मण क्षेत्री ५९, जनजाति ८६ र दलित १६७ जनाले आश्रय लिएको उनले बताए। जिल्लामा जनजातिको बाहुल्य रहे पनि कम सङ्ख्यामा रहेका दलित नै हिंसामा पर्ने देखिएको संस्थाले जनाएको छ । हिंसाको मूल कारण अशिक्षा र गरिबी भएकाले यसको मारमा गैरदलितभन्दा दलित नै बढी देखिएको शर्माले बताए ।

आश्रय लिनेमध्ये ठूलो सङ्ख्याका हिंसापीडित घरेलु हिंसाका छन् । शारीरिक हिंसा १२, मानसिक हिंसा ६१, सामाजिक हिंसा १७ र बालबाविवाहका आठ जनाले आश्रय लिँदा घरेलु हिंसाका २१० जनाले आश्रय लिएको सो संस्थाको तथ्याङ्कमा उल्लेख छ । बलात्कृत आठ र इँटाभट्टा जाने आठ जनाले समेत आश्रय लिएका छन् ।

आश्रयस्थललाई बन्द हुन नदिन आफूले सक्दो समन्वय गरिरहेको जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढाले जानकारी दिए। प्रदेश सरकार तथा स्थानीय सरकारसँग यसको निरन्तरताका लागि आफूले बजेट विनियोजन गर्न समन्वय गरेको उनले बताए । आश्रयस्थल सञ्चालक समितिका अध्यक्ष तुलसी आचार्यले आश्रयस्थलको निरन्तरता जरुरी रहेको बताए ।रासस



प्रतिक्रिया दिनुहोस्