फागुन २५, काठमाण्डौ । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरसले विश्वमा महामारिको रुप लिएपछी विभिन्न क्षेत्रहरु प्रभावित भएका छन । नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि त्यसको जोखिम न्युनिकरणका लागि भएका प्रयासप्रति सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । जसले गर्दा सबै जसो क्षेत्रमा प्रभाव परेको छ । पछिल्ला दिनमा चलचित्र भवनहरुमा पनि दर्शकको संख्यामा उल्लेख्य गिरावट आएको छ ।
कोरोना भाइरसका कारण विश्व फिल्म उद्योगले अर्बाैंको घाटा बेहोरिसकेको छ । त्यसको केही हिस्सा नेपाली चलचित्र उद्योगले पनि ओगटेको छ । कोरोनाप्रति सचेतना अपनाउँदै दर्शक सिनेमा हलमा आउने क्रम घटन थालेपछि दुई साता यता प्रदर्शनमा आउने भनिएका नेपाली चलचित्रको प्रदर्शनी स्थगित गरिएको छ ।
यही ३० फागुनबाट रिलिज गरिने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ र चैत्र ७ गतेबाट रिलिज गर्न थालिएको चलचित्र निरफुल पनि स्थगित भएको छ । यता अघिल्लो सातादेखी चलिरहेका चलचित्रमा पनि दर्शकहरुको आगमन अत्यन्तै कम हुँदै गएको छ ।
सरकारले केही दिन अगाडि मात्र ठूला सभा–सम्मेलन र भोजभतेर नगर्न सर्वसाधारणलाई आग्रह गरेको थियो । फरक स्थानबाट फरक अनुहारहरूको भीड हुने ठाउँ सिनेमा हल पनि भएकाले पहिलेको भन्दा अहिले त्यहा जाने दर्शकहरु घट्दै गएका छन । चलचित्र हेर्न सिनेमा हल पुगेका दर्शकहरु पनि मास्क सहित मनमा त्रास राखेर पुग्ने गरेको बताउँछन् ।
कोरोनाको कारणले आम सर्वसाधारण तथा चलचित्र हेर्ने दर्शकमा समेत त्रास बढेको उपत्यकाका केही सिनेमा हलमा देखिएको दृश्यले पुस्टि गर्छ । पहिले भन्दा दर्शकहरु घट्दै गएको कुरा सिनेमा हलका संचालकहरु नै स्विकार गर्छन् । गोपीकृष्ण सिनेमा हलका महाप्रबन्धक तिर्थ प्रसाद पौडेलका अनुसार विदाको समयमा जुन रुपमा दर्शकहरु आउनुपर्ने हो त्यो अनुसार आएका छैनन ।
गुणस्तरीय चलचित्र बनाउन नसक्दा नेपाली चलचित्र उद्योग यसै पनि धराशायी बन्दै गएको छ । जति चलचित्र निर्माण हुन्छन्, त्यसमध्ये १० प्रतिशतले मात्रै मुस्किलले लगानी उठाउने गरेका छन् । नाफा कमाउने फिल्मको संख्या त झन थोरै छ । यस्तो अवस्थामा कोरोना भाइरसको त्रासले यस वर्षको अन्त्यतिर नेपाली फिल्म उद्योग थप कमजोर बन्ने निश्चित छ ।