काठमाडौं, २५ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको प्रतिष्ठामा आँच आउने विषय स्वीकार्य नहुने बताएका छन् । उनले सेनामा व्यक्ति विशेष भ्रष्टाचार छ छैन हेर्ने निकाय भएकाले त्यसको नाममा तेजोबोध गर्न नपाउने बताए ।
‘कोही अनियमित र भ्रष्ट छ भने छुट पाउनुहुँदैन,’ पूर्व सेनापति भइसकेकामाथि भ्रष्टाचारको आरोप लागिरहेको छ नि भन्ने प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलालको प्रश्नमा उनले भने, ‘त्यही निहुँमा चरम भ्रष्टाचारीले कसैको तेजोबोध गर्न पाउँदैन प्रक्रियागत ढंगले जानुपर्छ ।’ कुनैपनि व्यक्ति विशेषलाई फलानो भ्रष्टाचार हो होइन भनेर प्रस्तुत हुने ठिक नभएको समेत बताए ।
उनले नेपाली सेनाको प्रतिष्ठामा आँच आउने कार्य मान्य नहुने समेत बताए । पोखरेलले भने, ‘नेपाली सेनाप्रति गर्व गर्छु । यसलाई अझ व्यवसायिक र दक्ष बनाउनुपर्छ ।’ सेना जहिले पनि संविधानले जे व्यवस्था गरेको छ त्यही अनुसार चलेको बताए । उनले भने, ‘नेपाली सेना त्यस्तो संस्था हो नेपालको एकता, स्वतन्त्रता, राष्ट्रियता, स्वाधिनतासँग सम्बन्ध छ । विद्यमान वैधानिक राजनीतिक नेतृत्वलाई स्वीकार गरेर चलेको छ । परराष्ट्र नीतिलाई टेवा पुर्याएको छ । प्रकोपमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’
https://youtu.be/QvXXXuR9IOA