कास्की, २६ फागुन । लायन्स क्लबको आर्थिक सहयोगमा जिल्लाको मादी गाउँपालिका–१ सिक्लेसमा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पक्की भवन पुनःनिर्माण गरिएको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसीआइएफ) को रु एक करोड ६९ लाख ६४ हजार ६५० लागतमा छकोठे सुविधासम्पन्न दुई तलाको पक्की भवन निर्माण गरी आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । लायन्सको आफ्नै स्रोतबाट भूकम्पले क्षतिग्रस्त बनाएका विद्यालयको भवन पुनःनिर्माण गर्ने योजनाअनुसार हालसम्म देशका विभिन्न भागमा १८ विद्यालय भवन निर्माण सम्पन्न भएको र आठ हस्तान्तरणसमेत गरिसकिएको लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बी–१ नेपालका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले जानकारी दिए ।
निर्माण सम्पन्न भएका बाँकी भवनसमेत छिट्टै हस्तान्तरण गरिने र ११ विद्यालय भवन डिष्ट्रिक्ट ३२५ अन्तर्गत रहेको उनले जानकारी दिए । विसं २०७२ को विनाशकारी भूकम्पछि विद्यालय भवन जीर्ण हुँदा हावापानी र वर्षात्को समयमा विद्यार्थीको पठनपाठनमा अवरोध हुँदै आएको थियो ।
पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका विद्यार्थी पक्की भवन निर्माणसँगै उत्साहित भएका छन् । विद्यालयमा हाल २७९ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । लायन्सले विद्यालय भवन निर्माण शुरु गरेको डेढ वर्षपछि निर्माणको सबै काम सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेको क्लबका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी विनोद ढुङ्गानाले जानकारी दिए ।रासस