Logo

‘ओलीबाट पटक पटक धोका’ भएको भन्दै वामदेव आक्रोशित



काठमाडौं, २७ फागुन । ‘मलाई पटक पटक धोका भएको छ,’ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूलाई भेट्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका नेताहरुलाई सिधै भने । उनले आफू अब धोका नखाने गरी अगाडि बढिसकेको भन्दै पछाडि नफर्कने स्पष्ट पारे ।

सोमबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भैंसेपाटीस्थित गौतमकै निवास पुगेका थिए । उनीहरुले गौतमलाई सहमतिको बिन्दु खोज्नेबारे छलफल गरे । गौतमले भने आफूमाथि भएको धोकाधडीको फेहरिस्ता बताउन थाले । विश्वस्त स्रोतका अनुसार गौतमले बर्दियामा आफूमाथि भएको अन्र्तघातको विषय देखि पछिल्लो समयबारे सुनाउँदै धोका भएको सुनाएका थिए ।

तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा आफूले ओलीलाई सघाएको स्मरण गराए । ओलीलाई गौतमले साथ दिएकैले जित सहज भएको थियो । उक्त महाधिवेशनमा ओलीले माधवकुमार नेपाललाई झीनो मतान्तरले पराजित गरेका थिए । त्यसपछि ओली शक्तिशाली बनेका थिए ।

गौतमले आफूलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने पार्टी सचिवालयले निर्णय गरिसकेको भन्दै नयाँ कोर्समा अवस्था गइसकेको सुनाए । उनलाई भेट्न पुगेका नेताहरु पोखरेल र ढकालले सहमतिको विकल्प नभएको भन्दै मिलेर अगाडि बढ्न माहोल तयारका लागि आफूहरु लाग्ने बताएका थिए ।

यसअघि महासचिव विष्णु पौडेलले पनि गौतमलाई भेटेर मिलनबिन्दु पहिल्याउने कोशिश गरेका थिए । तर, बिन्दु अझै बन्न सकेको छैन । गौतम सचिवालयको निर्णय नमाने नयाँ तरिकाले बढ्ने तयारीमा छन् भने प्रधानमन्त्री ओली सचिवालयको निर्णय मान्न तयार छैनन् । तत्कालको संकट ओलीको अस्पताल भर्नाले ओझेलमा परेपनि नयाँ ढंगले उठ्ने देखिदै गएको छ । यसबीच नेताहरु कुरा मिलाउन सक्रिय भएपनि सफल भइसकेका छैनन् ।

ओली पक्षका नेताहरुबाट गौतमलाई राष्ट्रियसभामा नलाने अभिप्रायका अभिव्यक्ति आइरहेका छन् । उपप्रधानमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रक्रियागत तरिकाले प्रतिनिधिसभा सदस्यको चुनाव जितेर प्रधानमन्त्री बन्न गौतमलाई चुनौती दिइसकेका छन् । ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले पनि पार्टीले सरकारको काममा निर्देशन दिन नमिल्ने भन्दै गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न नेकपा सचिवालयले गरेको निर्णय मान्नुनपर्ने जिकिर गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्