Logo

राप्रपा एकीकरण बहिष्कार गरेका सुनिल थापा काँग्रेस प्रवेशको तयारीमा



काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापाले बुधबारको पार्टी एकीकरण समारोह नै बहिष्कार गरेका छन् । उनी एकता समारोहमा देखिएनन् ।

राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलले पशुपतिशमशशेर राणाको नेतृत्वले गणतन्त्र र संघीयताविरुद्ध राजतन्त्रलाई स्वीकार गरेको हुनाले आफू एकीकरणमा सहभागी हुन नसकेको तर्क गरेका छन् । थापाले राजतन्त्रको पक्षमा उभिँदै आएको कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने पशुपतिशमशेरको निर्णयमाथि आपत्ति जनाउँदै हिजो मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गरेका थिए ।

सूर्यबहादुर थापाको नेतृत्वमा रहेको राप्रपाले गणतन्त्र र संघीयताको पक्ष लिँदै आएकोले उनले आफू आफ्ना पिताको राजनीतिक लाइनमै अडिग रहने बताउँदै आएका छन् । सूर्यबहादुरको निधनपछि पनि राप्रपाले गणतन्त्र र संघीयतासहितको संविधानलाई स्वीकार गर्दै आएको थियो । थापाले राप्रपा सूर्यबहादुर थापाको लाइनबाट विचलित भएको तर्क गरेका छन् ।

यसैगरी, सुनिल थापा काँग्रेस प्रवेशको तयारीमा छन् । काँग्रेस नेतृत्वसँग उनको लामो समययता छलफल हुँदै आएको बुझिएको छ । थापाले आफ्नो स्थानबारे कुरा मिले प्रवेश गर्ने तयारी गरेका छन् । यसअघि रिपोर्टर्स नेपालले थापाको काँग्रेस प्रवेशको तयारीबारे खुलासा गरेको थियो । सुनिल थापाले यसलाई अस्वीकार गरेपनि उनको भित्र भित्र तयारीले गति लिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्