काठमाडौं, ३० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली हँसिलो मुद्रामा देखिएका छन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किएका हुन्।
१२ दिन अस्पताल बसेर फर्किएका ओलीले डिस्चार्ज हुँदा पत्रकारहरूलाई कुनै प्रतिक्रिया भने दिएनन्। उनको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य मिर्गौला प्रत्यारोपण गरिएका अरू बिरामीको जस्तै रहेको बताएका छन्। अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको पेटमा एउटा पाइप राखिएको छ । सरकारी निवास बालुवाटारमा पनि चिकित्सकहरुले प्रधानमन्त्री ओलीको विशेष निगरानी गर्ने भएका छन् ।
प्रधानमन्त्रीलाई समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्। प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि उनको स्वागतका लागि संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री त्रिवि शिक्षण अस्पताल पुगेका थिए। उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत अस्पताल पुगेका थिए ।
तर, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम कोही पनि देखिएनन् । पििछल्लो समय ओलीसँग अध्यक्ष दाहालको नेतृत्वमा रहेको शक्तिशाली गुट एकमत देखिएको छ । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजानेबारे सचिवालयले गरेको निर्णय नमान्ने भन्दै अध्यक्ष ओलीले चूनौति दिएका छन् । उनले राष्ट्रपतिबाट मनोनित गर्ने उक्त सदस्यमा पनि अहिलेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका छन् । तर, दाहालसहित नेताहरु नेपाल, खनाल, प्रवक्ता नारायणकाजी, सचिवालय सदस्यहरु विष्णु पौडेल र रामबहादुर थापा बादलपनि गौतमलाई नै अघि बढाउनुपर्नेमा एकमत छन् ।