काठमाडौं, १ चैत्र । चर्चित नायिका आँचल शर्मा विवाह बन्धनमा बाँधिएकी छिन् । पेशाले चिकित्सक रहेका डा. उदिप श्रेष्ठसँगको करिब दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनले वैवाहिक जीवनमा परिणत गरेकी छिन् । काठमाण्डौको बुढानिलकण्ठस्थित् पार्क भिलेज रिसोर्टमा भव्य समारोहका बीच उनीहरुको विवाह भएको हो ।
निकै तामझाम गरेर विवाह गरिएको थियो । आँचललाई उनका पतिले करोडौंका गरगहनासमेत उपहार दिएकोबारे अहिले ईण्डष्ट्री तातेको छ । कतिसम्म भने उक्त विवाह समारोहमा सरिक भएकाहरु नै तामझाम देखेर छक्क परेका थिए । चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा उदाएकी यी सुन्दरी म्यूजिक भिडियोको दुनियाँमा अझ बढी सफल मानिन्छिन् । आँचल र उदिपले आज आयोजना गरेको रात्री भोजमा भिआईपीदेखि चलचित्रकर्मीहरु निम्ता गरेका छन् ।
उनीहरु साँझ आयोजना गरिने भोजमा भने हेलिकप्टरबाट उत्रिने कार्यक्रम समेत तय भएको स्रोतको दाबी छ । कोरोना भाइरसको सन्त्रासका कारण सरकारले पनि अहिले कुनै ठूलो संख्यामा सभा, भोज, भतेरको आयोजना नगर्न भनेको छ ।
आँचल विवाह बन्धनमा बाँधिएपछि उनको नाम नायक पल शाहसँग जोडेर धोका दिएको भन्दै पलका फ्यानहरुले गालीसमेत गरेका छन् । सामाजिक सञ्जालमा समेत यसबारे चर्को बहस भैरहेको छ । कतिसम्म भने विवाह बन्धनमा बाँधिएलगत्तै आँचलले पललाई सामाजिक सञ्जालबाट समेत अनफलो गरेका समाचार बाहिर आएका छन् ।
हुन त आँचलले पलशसँग चलचित्र र धेरै म्युजिक भिडियामा संगै काम गरेकै आधारमा फ्यानहरुले उनीहरुका बीचमा प्रेम सम्बन्ध थियो भनेर अनुमान गरेको तर बास्तविकमा उनीहरुबीच कुनै प्रेम सम्बन्ध नभएको बताईन्छ । स्वयम, आँचलले समेत यो कुरा स्पष्ट पारिसकेकी छिन् ।
तस्विर : वेडिंग ड्रिम्स नेपाल