Logo

सार्क नेताबीच आज भिडियो कन्फरेन्स



काठमाडौँ, २ चैत । सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ मार्फत सहकार्य अघि बढाउने भएका छन्। पाँच वर्षदेखि सार्क अवरुद्ध छ। २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन। आइतबार हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी दिए। कन्फरेन्स ५ बजे सिंहदरबारमा हुनेछ। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज भएका थिए। प्रधानमन्त्री ओलीले केही राजनीतिक नेता र आफ्ना सल्लाहकार समूहलाई भेटेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असहज देखिएमा कन्फरेन्समा परराष्ट्रमन्त्री र सल्लाहकार समूह सहभागी हुनेछन्।

सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो। कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ। परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘कन्फरेन्सको हब दिल्ली भए पनि नेपाल अध्यक्ष हुनाले हामीले पनि भूमिका निर्वाह गर्नेछौं।’ सम्मेलनमा सबै सदस्य मुलुकबाट राजनीतिक नेतृत्व सहभागी हुनेछन्। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्