काठमाडौं, ४ चैत्र । नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गरे । तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् । उनले भने,‘यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो । स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दैनिक एक लाख सिलिण्डर देशभरि खपत हुँदै आएको डाटा सुनाउँदै अहिले त्यतिनै मात्रामा आपूर्ति भैरहेकोले कुनै समस्या नहुने जिकिर गरे । उनले भने,‘आवश्यकत्ताभन्दा बढि आपूर्ति नगरौं, यसो गर्न सकियो भने अहिलेको समस्या आफैं समाधान हुन्छ ।’ उनले भारतबाट समयमै ढुवानी भैरहेको र कुनै असर नपरेको पनि स्पष्ट पारे ।
भण्डारीले काठमाडौं उपत्यकामा मात्रै दैनिक ४० देखि ५० हजार सिलिण्डिरको खपत हुने गरेको सुनाए । उनले भने,‘अहिले ३८ वटा उद्योग (डिलर) ले सेवा दिईरहनुभएको छ ।’ उनले कुन डिलरबाट कति ग्याँसल वितरण भएको छ ? भन्नेबारे आफूहरुले संस्थाको वेबसाईटमै आधिकारिक रुपमा अपडेट गर्न लागेको पनि सुनाए ।
उनले ग्याँसको सामान्य र नियमित खपतमा कुनै समस्या नभएको जिकिर गरे । उनले भने,‘आवश्यकत्ताभन्दा बढि होल्ड नगरौं, सुरक्षाको दृष्टिकोणले पनि राम्रो होईन्।’ उनले नियमित ग्याँस आईरहेकोले नआँत्तिन समे आम उपभोक्तालाई आग्रह गरे । उनले थपे,‘ग्याँस आपूर्तिको लागि बोर्डरमा समेत कुनै समस्या छैन् ।’
उनले ग्याँस लुकाउने कुरै नहुने भन्दै गलत गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । उनले भने,‘हामीले पनि गलत गर्नेलाई कारबाही गर्न सरकारलाई सहयोग पुर्याउँछौं ।’