काठमाडौं, ६ चैत्र । भारत सरकारले नेपाललाई विशेष सहयोग घोषणा गर्ने भएको छ । नेपाल सरकारका उच्च अधिकारीहरुका अनुसार विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा नभित्रियोस भनेर तयारी गर्नको लागि र भित्रीहाले त्यसको रोकथाम र नियन्त्रणको लागि भारतले सहयोग राशि घोषणा गर्न लागेको हो ।
एक उच्च अधिकारीले भने,‘भारतले आज वा भोलि जुनसुकै बेला नेपाललाई सहयोग घोषणा गर्नसक्छ, त्यसको लागि भारतले तयारी गरिरहेको कुरा हाम्रो जानकारीमा आएको छ । नेपालमा कोरोना नियन्त्रण तथा रोकथामको लागि कुनैपनि बेला भारतले सहयोग घोषणा गर्नसक्छ । आज, भोलि वा पर्सी । यसको लागि भारतले गृहकार्य गरिरहेको छ ।
नेपाल सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ। सरकारले जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै चैत ७ गतेदेखि युरोपसहितका विभिन्न देशबाट नेपाल आउन रोक लगाउने निर्णयसमेत गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले पूर्वसावधानी अपनाउन दर्जनभन्दा बढी निर्णय लिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबारबाट सुरु हुन लागेको एसइई परीक्षा पनि स्थगित गर्न निर्देशन दिएका हुन्।
पोखरेल नेतृत्वको समितिले एसइईको तयारी पूरा भएको जनाउँदै त्यसबाहेक स्कुल र क्याम्पसको पठनपाठन चैत महिनाभरि बन्द गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले विश्वमै कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै पूर्वसावधानी अपनाउन सबै तहका परीक्षा रोक्न निर्देशन दिएका हुन्। file photo