एजेन्सी, ६ चैत्र । २० मार्चको सुर्यदय अगाडि नै निर्भया बलात्कारका चारजना दोषीलाई फाँसी दिने निश्चित भएको छ । उनीहरुलाई फाँसी दिने डोरी विहारको एक जेलमा बनेर पुगिसकेको छ ।
फाँसी दिनुअघि चारजना दोषी पवन गुप्ता, विनय शर्मा, अक्षय ठाकुर र मुकेश सिंहलाई परिवारसँग भेट्न अनुमति दिइएको छ । टाइम्स अफ इन्डियाका अनुसार परिवारसँग भेट्न र एक अर्कालाई छुन कोठाभित्र अनुमति दिइएको थियो । चारजनामध्ये तीनजनाको परिवार जेलमा भेटका लागि पुगेपनि अक्षय ठाकुरको परिवार नपुगेको तिहार जेलको स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।
२९ फेब्रुअरीमा पवन गुप्ता र विनय शर्माको परिवार जेलमा पुगे । उनीहरु परिवारसँग भेट्दा खुबै रोएका थिए । शर्मालाई जेलका अधिकारीहरुले सम्झाउनुपरेको थियो । अनियन्त्रित तरिकाले शर्मा रोएको उल्लेख गरिएको छ ।
२ मार्चको परिवारसँगको भेटमा मुकेश सिंह बढी समय शान्त देखिन्थे । तर, उन बेला बेलामा भावुक भई रोएका थिए । उनी बारम्बार कानुनी विकल्प रहेको र फाँसीबाट बच्ने बताइरहेका थिए ।
ठाकुरको परिवार भने जेलमा पुगेनन् । उनकी पत्नी पुनिता देवीले पारपाचुकेको निवेदन अदालतमा दर्ता गरेकी छिन् । यसको सुनुवाई आज हुँदैछ ।
सन् २०१२ को डिसेम्बरमा दिल्लीमा बसमा भएको सामूहिक बलात्कारमा निर्भयाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेकोमा एकजनाले आत्महत्या गरेका थिए । चारजना भने भोलि फाँसी पाउँदैछन् ।