नयाँ दिल्ली, चैत ७ । कोराना भाइरसको संक्रमणबाट भारतमा बिहीबार थप एक जनाको ज्यान गएसँगै मर्नेको संख्या चार पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पन्जाब प्रान्तमा बिहीबार कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषले ज्यान गुमाएका छन्। ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनी भ्रमण गरेर भारत आएको पाइएको छ।
यसअघि भारतको दिल्ली, कर्नाटक र मुम्बईमा कोरोना संक्रमणबाट एक–एक जनाको ज्यान गएको थियो। वल्र्डओमिटरडटइन्फोका अनुसार भारतमा १९७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घन्टामा त्यहाँ २८ जनामा संक्रमण देखिएको छ। यस्तै, कूल संक्रमितमध्ये २० जना उपचारपछि सन्चो भएर घर फर्किएको वल्र्डओमिटरडटइन्फोले जनाएको छ।एजेन्सी