काठमाडौं, ८ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र कृत्रिम अभाव रोक्न अहोरात्र फिल्डमा खटिएको भनेर चर्चा भैरहँदा सोही मन्त्रालयका राज्यमन्त्री मोतिलाल दुगडमाथि भने यस्तो विषम परिस्थितिमा पनि कालोबजारी गर्नेहरुसँग मिलेको आरोप लागेको छ ।
मन्त्रालयका कतिपय कर्मचारीहरु मन्त्री दुगडको कार्यशैली देखेर चकित परेका छन् । कोरोना भाईरस (कोभिड–१९) का कारण अहिले विश्व बजार नै संकटको घडीबाट गुज्रिरहेको छ । यसबाट नेपालपनि अछुतो छैन् । कोरोनाका कारण नेपालको अर्थतन्त्र धराशयी प्रायः बन्न पुगेको छ । यस्तो अवस्थामा उद्योगी तथा व्यवसायीहरुले सरकारसँग राहतको समेत माग गरेका छन् । केही दिनअघिमात्रै होटल सञ्चालक, हवाई सेवा सञ्चालकहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको भेटमा आफुहरुलाई उचित राहतको व्यवस्था गर्न माग गरेका थिए ।
कोरोनाका कारण नेपालीहरु कालोबजारी र चरम मूल्यवृद्धिको शिकार भैरहेका छन् । कतिसम्म भने अत्यावश्यक बस्तुहरु बजारमा सहजै पाउन पनि छोडेको छ । यी सबै समस्या रोक्नको लागि मन्त्री भट्ट आफैं फिल्डमा खटिएका छन् । उनी विदाको दिनपनि नभनी बजार अनुगमनमा खटिएका छन् । तर, राज्यमन्त्री दुगड भने बजार अनुगमन त परै जाओस उनीमाथि अहिले कृत्रिम अभाव र कालोबजारी गर्नेहरुसँग नै मिलेमतोमा लागेको भन्ने आरोप छ । मन्त्रालयका कर्मचारीहरु भन्न थालेका छन्,‘मन्त्री भट्ट चाहीँ बजार अनुगमनमा निस्किनुभएको छ, तर, राज्यमन्त्री चाहीँ कालोबजारीहरुसँग मिलेर बजारमा कृत्रिम अभाव सिर्जना गर्न व्यस्त हुनुहुन्छ ।’
दुगड आफैं व्यवसायिक जीवनबाट आएका व्यक्ति हुन् । उनको मुख्य ध्यान भनेको नै जसरी होस मुनाफा हात पार्नु हो । कतिपयले त उनलाई कमिसन नभई कामै नगर्ने मन्त्रीको रुपमापनि चित्रण गर्न थालेका छन्।
‘जे होस दुगडले मार्केट बुझेका छन् । मन्त्री उपभोक्तालाई कुनै असर नपरोस भनेर दिनरात फिल्डमा उत्रिन्छन् । राज्यमन्त्री दुगड भने रात परेपछि कालोबजारी गर्नेहरुसँग सेटिङमा छन् ।’दुगड नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट समानुपातिक सांसद बनेका थिए। उनी सेन्चुरी मसला, विराटगरमा रहेका एक होटेलका संचालक समेत हुन्।
उता, मन्त्री भट्ट बजार अनुगमन गर्न आफैं फिल्डमा उत्रिरहेका छन् । आज शनिबारको दिनपनि उनले मन्त्रालयमा सरोकारवालाहरुसँग छलफल गरेर कोरोनाको त्रासका बीच हुनसक्ने कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि आफूनै फिल्डमा उत्रिने घोषणा गरेका छन् ।
विश्वभरि महामारीको रुपमा कोरोना फैलिएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । विश्वभरि आर्थिक रुपमा ठूलो घाटा भएको छ । नेपालमा आम उपभोक्ता यतिवेला ठूलो मारमा परेका छन् । काठमाडौंमा डेरा गरी बस्नेहरु पनि ठूाले संख्यामा काठमाडौं छोडेर गृहजिल्ला फर्किएका छन् ।
यसअघि भट्टले बजारको छड्के अनुगमन गरिसकेका छन् । ग्यास, डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको अभाव भएको गुनासोपछि मन्त्री भट्ट बुधबार सुरक्षा गार्ड र झण्डावाल गाडी बिना नै बजारको छड्के अनुगमनमा गएका थिए । मन्त्री भट्ट स्वकीय सचिवले चलाएको से १ त ८४३ नम्बरको प्राइभेट कारमा चढेर ललितपुर र काठमाण्डौका झण्डै दुई दर्जन पेट्रोल पम्प, ग्यास डिलर र बिक्रेता कहाँ पुगेका थिए ।
पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, टेकु, त्रिपुरेश्वरलगायतको ठाउँमा झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गर्दा सबै ठाउँमा सामान्य हिसाबले पेट्रोल डिजलको आयात भइरहेको पाइएको थियो ।
नाकाबन्दीमा जस्तै बजारमा अभाव हुने डरले उपभोक्ताले बोत्तल र ग्यालेनमा पेट्रोलरडिजल लैजाने गरेको तथा अतिरिक्त सिलिण्डर ग्यास भण्डारण गरेकाले केही समस्या देखिएको मन्त्री भट्टले बताउँदै आएका छन् । मन्त्री भट्टले कालिमाटी तरकारी तथा फलफुल बजारको पनि अनुगमन गरेका थिए ।
तरकारी बजारमा लसुन र स्याउको भाउ केही महँगो भएको देखिए पनि अरु बजार सामान्य रहेको पाइएको छ । कोरोनाको प्रभावले गर्दा तरकारी तथा फलफुलको आयात सामान्य रहेको कालिमाटी तरकारी बजारका कर्मचारीले मन्त्री भट्टलाई जानकारी गराएका थिए।