जनकपुरधाम, चैत १० । भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम बढेको छ।
आवतजावतका लागि खुला रहेको धनुषाको एकमात्र मुख्य नाका जटहीमा स्वास्थ्य जाँचका लागि नगराइन नगरपालिकाले दुईजना स्वास्थ्यकर्मीसहितको टोली हेल्प डेस्कमा राखेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट दैनिक आउने सयौं सर्वसाधारणका लागि एक सिफ्टमा मात्र एकजना स्वास्थ्यकर्मी खटाइएको छ।
सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतबाट नेपालतर्फ फर्किरहेका कतिपय व्यक्ति निर्बाध रुपमै नेपाल प्रवेश गरिरहेका छन्। आइतबार जटही सीमा हुँदै भारतको उत्तरप्रदेश र विहारबाट फर्किरहेका नेपाली चेकजाँचबिनै भित्रिँदै गरेको आजको नागरिक दैनिकमा खवर छ ।