हेटौडा, १२ चैत्र । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषण गरेको लकडाउनले हेटौँडा बजार आज दोस्रो दिन पनि सुनसान भएको छ । फाट्टफुट्ट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । किनमेलका लागि खास गरी बिहान र साँझपख पसल खुल्ने र ग्राहकको भीड लागेको देखिन्छ ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरीका टोली मुख्य बाटो तथा चोकमा सुरक्षाका लागि खटिएका छन् । सडकमा जथाभावी हिँडनेलाई घरमा बस्न सचेतसमेत गराइएको छ । उता कोरोना भाइरसको जोखिमबाट सचेत रहन स्थानीय प्रशासनले हेटौँडा उपमहानगरपालिकाले माइकिङ गरी सूचना प्रदान गर्दै आएको छ ।
साथै स्थानीय प्रशासनद्वारा हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन तथा अस्पतालमा उपचारका लागि व्यवस्थासमेत गरेको छ । त्यस्तै हेटौँडामा रहेको उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द भएका छन् । साथै अलपत्र परेका लामो दूरीका सवारी साधनलाई जाने व्यवस्थासमेत गरिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । –रासस