विराटनगर, चैत २३ । इस्लाम धर्म प्रचारका लागि भनेर पाकिस्तानबाट नेपाल आएका नौ जना पाकिस्तानी नागरिकलाई मोरङको सुनवर्षी नगरपालिका-९ स्थित क्वारेन्टाइनमा राखिएको छ। मोरङ प्रशासनको निर्देशनमा उनीहरूलाई मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो।
जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन नाम गरेका धर्म प्रचारकलाई मस्जिदको क्वारेन्टाइनमा राखिएको हो। उनीहरू सबै ६० वर्षमाथिका छन्। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न लकडाउन भएपछि उनीहरू पाकिस्तान फर्कन पाएका छैनन्।
लकडाउनको अघिल्लो दिन नै उनीहरू सुनवर्षी आइपुगेको स्थानीय अगुवा महताब आलमले बताए। ‘सबै जनालाई पाकिस्तान फर्काउनका लागि अनुमति माग गरिए पनि स्थानीय प्रशासनले दिएन,’ उनले भने, ‘अनुमति नपाएपछि मस्जिदकै क्वारेन्टाइनमा निगरानीमा राखिएको छ।’ उनीहरूको भिसाको समय भने अझै बाँकी रहेको प्रहरीले जनाएको छ। यस्तै धर्म प्रचारका लागि भारतको आगराबाट आएका १० जना पनि क्वारेन्टाइनमा बसेका छन्।
फागुन १२ गते नेपाल आएका उनीहरू लकडाउनपछि मस्जिदको क्वारेन्टाइनमा बसेका छन्। यस्तै, भारतबाट आएर मस्जिदमा लुकेर बसेका १२ जना नेपालीलाई प्रहरीले फेला पारेर क्वारेन्टाइनमा पठाएको अन्नपूर्ण पोष्ट्मा खवर छ ।