काठमाडौं, ३ वैशाख । पेप्सीकोलाको सनसिटीमा कोरोना भाइरसको रयापिड टेष्टबाट तीनजनाको पोजेटिभ नतिजा आयो । उनीहरुमध्ये दुईजनाको पुनः परीक्षणबाट पनि टेष्ट पोजेटिभ नै आएपछि अस्पतालमा भर्ना गरिए । त्यसमध्ये अर्का एकजनाको पुनः परीक्षणबाट टेष्ट भने नेगेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुनः परीक्षणबाट अर्का व्यक्तिको टेष्ट नेगेटिभ आएको जानकारी दिए । उनले भने, अर्का एकजनाको टेष्ट नेगेटिभ आएको छ । योसँगै सनसिटीमा मात्र दुईजनाको टेष्टबाट कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सनसिटीमा संक्रमण देखिएपछि त्यहाँ धमाधम रयापिड डायगनसिस टेष्ट हुनथालेको छ । अहिलेसम्म २९८ को टेष्ट भइसकेको डा. विकास देवकोटाले जानकारी दिए । परीक्षणको नतिजा सबै नेगेटिभ आएको छ ।
संक्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान गरी धमाधम टेष्ट गर्न थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।