Logo

मस्जिदको आसपास मानिसको आवतजावतमा पूर्ण प्रतिबन्ध



काठमाडौं, बैशाख ७ । एकै ठाउँमा धेरै मानिसमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ का करिब ३ सय घर परिवारका सबै मानिसको परीक्षण गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताएका छन्।

त्यहाँस्थित एक मस्जिदमा बस्दै आएका ११ भारतीयसहित १२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उक्त वडाका सबै मानिसहरूको परीक्षण गर्न लागिएको सुवेदीले बताए।त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार कोरोनाभाइरस सङ्क्रमित बसेको उक्त मस्जिदमा बसेका अन्य र उनीहरूको सम्पर्कमा रहेका आसपासका बस्तीका करिब १५ सय मानिसको परीक्षण गर्नुपर्ने अवस्था रहेको छ।

उनका अनुसार त्रियुगा नगरपालिकाको वडा नं १, २, ३, ६ र १२ मा कोरोना सङ्क्रमितहरूको आवतजावत भएको देखिएको छ।प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय विराटनगरले आवश्यकता अनुसार द्रुत तथा पीसीआर परीक्षणका लागि चिकित्सकसहितको टोली खटाइसकिएको जनाएको छ।

बीबीसीका अनुसार स्थानीय प्रशासनले कोरोनाभाइरस सङ्क्रमित भेटिएको मस्जिदको आसपासका क्षेत्रमा मानिसको आवतजावतमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जनाएको छ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले मस्जिदमा भेटिएका सङ्क्रमितहरूको अन्य मानिससँगको सम्पर्क र उनीहरूको आउजाउको विवरण सङ्कलन गर्न थालिएको बताएका छन्।

मस्जिदमा बसेका उनीहरूको द्रुत विधि वा आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। तर उनीहरूको स्वाब सङ्कलन गरी कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा भने सङ्क्रमण रहेको पोजिटिभ परिणाम आएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। त्यहाँ भएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

प्रारम्भिक विवरण अनुसार गत फागुनमै उनीहरू भारतको दिल्लीबाट जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए।

त्यसपछि मोरङ्ग, सुनसरी, सप्तरी हुँदै उनीहरू उदयपुर पुगेको बताइएको छ।उदयपुरको मस्जिदमा भेटिएका १२ जना सङ्क्रमितको विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार शुरू गरिएको छ।



प्रतिक्रिया दिनुहोस्