Logo

२९ हजारको कोरोना परीक्षण, २ सय ६० जना रेड जोन



वैशाख ७, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २९ हजार ५ सय ६७ बढीको कोभिड १९ परीक्षण भएको जनाएको छ । आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट आठ हजार ८१ र आरडीटी किट परीक्षणबाट २१ हजार ४ सय ८६ नमूनाको परीक्षण गरिएको जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा नयाँ परीक्षण २ हजार ६८ वटा भएको उनले बताए । थप परीक्षणका लागि आवश्यक किट सबै प्रदेशमा पुर्याइएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा ५ हजार १ सय ८० व्यक्ति छन् भने आइसोलेसनमा १ सय ३ जना छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ५ र उपत्यकाबाहिर ९८ जना रहेका छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा २ हजार २ सय ४१ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यका स्वमूल्याङ्कन गर्नेको संख्या २० हजार ८ सय ३४ रहेको छ । तिमध्ये २ सय ६० जना रेड जोनमा अर्थात सम्भावित कोरोना संक्रमित रहेका छन् ।

कोभिड नाइन्टिन संक्रमित सेति अस्पतालमा उपचाररत १९ वर्षीय युवक आइतबार डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उदयपुरमा १२ जना कोरोना संक्रमित भेटिएपछि त्यस क्षेत्रमा ¥यापिड टेस्ट र नमुना संकलनलाई तीब्रता दिइएको उनले बताए । शनिवार ६९ जना सकास्पदको नमुना संकलन गरिएको छ भने आइतबार पनि करिब २५० जनाको नमुना संकलन भएको छ । नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिदै मन्त्रालयले तिमध्ये ४ जना उपचारपछि निको भएको जानकारी दिएको छ ।

उपचाररत विरामीहरु काठमाण्डौको टेकुमा १ जना, पाटनमा २ जना, वागलुङमा १ जना, चितवनमा २ जना, धनगढीमा ४ जना, बिरगंजमा ४ जना र विराटनगरमा १३ जना रहेको छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । काठमाण्डौ बाहिर बागलुङ र धनगढीमा पनि कोरोनाको उपचार सफल भएको भन्दै देवकोटाले त्यसलाई सफलताको संज्ञा दिएका छन् । त्यसैगरी उनले उपचारपछि निको भएकाहरुलाई कसैले पनि कुनै पनि भेदभाव नगर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्