काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पैसा कमाउनको लागि राजनीतिमा नआएको स्पष्ट पारेका छन् । उनले आफू बोली र व्यवहारमा प्रतिबद्ध व्यक्ति भएको समेत विश्वास दिलाएका छन् । रासससँगको विशेष कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । राससले कोभिड–१९ को उपचारका निम्ति हालसम्म औषधि वा खोपको त विकास भएको छैन । तर, पिपिइदेखि अन्य परीक्षणका सामग्रीको पनि राम्रोसँग व्यवस्थापन हुनसकेको छैन । अर्कातिर खरिदको विषय पनि विवादमा छ । यसलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।
उनले भनेका छन्,”हामीले कतिपय होटलमा जाँदा त्यहाँ एक प्रकारको धुन बजिरहेको सुन्छौँ । त्यो सुमधुर धुन हो तर नेपालमा एकथरि कर्कस धुन मात्र निकालिरहने समूह छन् । मैले पटक–पटक भनेको छु, मेरो र यो सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताका बारेमा, म भ्रष्टार गर्दिनँ र हुन दिन्न भनेर । मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु । मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो । मलाई पैसा कमाउनु छैन । म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ । म बोली र व्यवहारमा प्रतिबद्ध छु ।”
उनले अघि थपेका छन्,”खाली कुरा के हो भने पहिले–पहिलो भएका भ्रष्टाचारका मुद्दालाई यो सरकारले छानबिन र कारवाही गरेको हुँदा यही सरकारले भ्रष्टाचार गरेको भन्ने ढङ्गले कुप्रचार गर्ने गरिएको छ । जस्तो बालुवाटारको ललिता निवास प्रकरण विगतमै भएको हो । हामीले चाँजबुझ अघि बढायौँ । वाइडबडी प्रकरणको कुरा पहिल्यै शुरु भएको हो । ३८ केजी सुन प्रकरणमा हाल करिब ७३ जना कारागारमा छन् । धेरैलाई मुद्दा लागेको बताउँदै २२–२४ जनालाई जिउँदै पोल्ने पनि पहिले सांसद भएर बसेका थिए । तिनीहरु छानबिन आएपछि शासन सुव्यवस्था नभएको र भ्रष्टाचार भएको भनी आरोप लगाइएको छ । तर सबै अनियमितता एकै पटक नरोकिन सक्छन् । सुशासन लामो यात्रा हो ।”
उनले अघि भनेका छन्,”प्रधानमन्त्री अहिले पहिलेको जस्तो खरिद बिक्रीको कारोवार गर्दैन । पहिला–पहिला आफूले गरेकाले त्यही सम्झिएर वा ऐनामा हेर्दा आफ्नो त्यही अनुहार देखेर अहिले अरुले पनि त्यही गरेको हुनुपर्छ भन्ने हल्ला चलाइरहेका छन् । स्वास्थ्य सामग्रीसम्बन्धी सम्झौता र रद्द गर्ने काम स्वास्थ्य मन्त्रालयको सम्बन्धित विभाग हो । सम्झौता रद्द भएको मैले प्रेस ब्रिफिङबाटै थाहा पाएको हुँ । त्यसका प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जोडेर प्रचार गरिनु कर्कश धुन बजाउनुजस्तै हो । यो कुरा भ्रम सिर्जना गर्ने, जनता अल्मल्याउने र सरकारलाई असफल पार्ने मनसायबाट प्रेरित हुन् । स्वास्थ्य सामग्रीसम्बन्धी त्यो सम्झौता रद्द भयो, जमानत जफत भयो र कालोसूचीमा राखियो, अनियमितता गर्नेलाई कारवाही हुन्छ । अधिकार प्राप्त निकाय र व्यक्तिले सहीरूपमा त्यसको प्रयोग गर्नुपर्छ । आशङ्का गर्नु अन्यथा होइन, छानबिन हुँदा गलत पाइए कारवाही हुन्छ तर जेमा पनि शङ्का गरेर यस्तो स्थितिमा काम गर्ने मान्छेलाई हतोत्साहित गर्नु हुँदैन ।”
तस्वीर : प्रधानमन्त्रीको निजी सचिवालय