७ वैशाख ।भारतको लोकसभा सचिवालयले आगामी सोमबारदेखि काम शुरु गर्ने जनाएको छ । कोरोनाभाइरसको सङ्क्रमणका कारण गत मार्चको अन्तिम हप्तादेखि काम गर्न नसकेको सचिवालयले आगामी सोमबारदेखि काम गर्ने भएको हो ।
भारतको लोकसभा र राज्यसभा गत मार्च २४ देखि बन्द अवस्थामा रहेका छन् । लोकसभा सचिवालयले जारी गरेको सूचना अनुसार सचिवालयका सहसचिव वा सोेभन्दा माथिका कर्मचारीहरुले सोमबारदेखि कार्यालयमै आएर काम गर्न थाल्ने छन् ।
अन्य कर्मचारीहरु पनि पालोपालो गरेर कार्यालयमा हाजिर भएर काम गर्ने सचिवालयले जानकारी दिएको छ ।
कार्यालयमा काम गर्दा सामाजिक दूरी कायम गर्नु पर्ने लगायतका आधारभूत स्वास्थ्य सतर्कतालाई भने ध्यान दिइने सचिवालयले जनाएको छ । कार्यालयका फाइलहरु विद्युतीय माध्यमबाट मात्रै आदानप्रदान गर्ने व्यवस्था पनि गरिने भएको छ ।