Logo

कोरोना अस्पताल बनाउन शर्त बिपरित सम्झौता



वीरगन्ज, बैशाख ८ । वीरगन्ज महानगरपालिका र यहाँस्थित गण्डक हस्पिटल प्रालिबीच वीरगन्जमा कोरोना अस्पताल बनाउन भएको सम्झौता शर्त बिपरित भएको पाइएको छ। बैशाख २ गते वीरगन्ज महानगरपालिकाको कार्यालयले साँझ करिब पौने ५ बजे एउटा सूचना प्रकाशित गर्दै, तीन दिनभित्र कोरोना अस्पताल बनाउनको लागि कागजात पेश गर्न नीजी अस्पतालहरुलाई अह्वान गरेको थियो। सूचनामा उल्लेख गरिएको मापदण्ड बाहिर शनिबार अस्पतालसंग महानगरपालिकाले सम्झौता गरेको छ।

महानगरपालिकाको सूचनामा ‘निजी क्षेत्रबाट संचालित कम्तिमा ५० सैया क्षमता भएको अस्पतालसंग प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरिएको थियो। तपसिलमा अस्पताल दर्ताको प्रमाणपत्र, नवीकरण र कर चुक्ता माग गरिएको थियो। तेस्रो दिन शनिवार २५ सैया मात्र स्विकृत रहेको गण्डक हस्पिटल प्रालिसंग महानगरले सम्झौता गरेको छ।

सार्वजनिक खरिद ऐन र नियम अनुसार यसरी अह्वान भएको सूचनाको अधिनमा रहेर सेवा तथा बस्तु खरिद गर्ने प्रावधान छ। स्वास्थ्य सेवा विभागको ब्यवस्थापन महाशाखामा २०६८ बैशाख २२ मा २५ सैयाको अस्पताल स्विकृत रहेको अभिलेख छ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको उपस्थितिमा भएको सम्झौतामा कार्यालयको तर्फबाट निमित्त प्रमुख प्रसासकीय अधिकृत अरुणकुमार महतो र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मुँतुबा अन्सारीले हस्ताक्षर गरेका छन्। अस्पतालका संचालक रहबर अन्सारी पनि साक्षी बसेका छन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्