काठमाडौं, ८ बैशाख । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तरंग पैदा भएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तो निर्णय भएसँगै पूर्व माओवादी खेमाका मन्त्रीहरु पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।
तर, मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव ल्याउने प्रधानमन्त्री केपी शर्मा ओली भने पूर्व माओवादी खेमाका मन्त्रीहरुले अध्यक्ष दाहालसँग छलफल गरिरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग छलफलमा व्यस्त थिए । मन्त्रिपरिषद बैठक सकिनेबित्तिकै ओलीले गौतमलाई फोन गरेर बालुवाटार बोलाएका थिए । उनीहरुबीच मन्त्रिपरिषद बैठकले गरेको पछिल्लो निर्णयबारे छलफल भएको स्रोतको दाबी छ ।