काठमाडौं, बैशाख १० । सरकारले राष्ट्रिय प्राथमिकता पाएको तथा अन्य विकास निर्माणको काम सुचारु गर्न दिने खुकुलो बाटो अपनाए पनि नागढुंगा सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन ।
मुलुकमा जारी लकडाउनका कारण त्यहाँ खटिएका स्थानीय मजदुुर तथा निर्माण कम्पनीका प्राविधिक आ–आफ्नो घर फर्किएपछि सुरुङ निर्माणको काम अघि बढ्न नसकेको हो । लकडाउनपछि सुरुङमार्ग निर्माणको काम ठप्प रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
आयोजनाले लकडाउनपछि सुरुङ निर्माणमा खटिएका जापानी प्राविधिकसहित २ सय ७० जना कामदार आ–आफ्नो घर फर्किएका जनाएको छ । जसको असर आयोजनामा परेको छ ।
लकडाउनपछि आयोजनाको काम पूर्णरूपमा ठप्प छ । स्थानीय मजदुरदेखि उपत्यकाबाहिरका मजदुर, प्राविधिक, अपरेटर सबै घर फर्केको अवस्था छ भने निर्माण कम्पनी जापानी प्राविधिक पनि आफ्नो देश फर्किसकेका छन् ।
सरकारले लकडाउनका बेला विकास निर्माणको काम सुचारु गर्न बाटो खुकुलो पारे पनि मजदुर नहुँदा सुरुङ निर्माणको काम प्रभावित बनेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।