Logo

ओलीका कारण लुकेर हिंड्नुपर्ने भयो- हरिबोल गजुरेल



काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा सरकारले ल्याएको अध्यादेशको खुलेर विरोध गरिरहेका छन् । उनले पार्टी फुटको अवस्थामा पुगेको भन्दै त्यसको जिम्मेवार ओलीलाई ठहराएका छन् । अध्यक्ष प्रचण्डनिकट नेता गजुरेलसँग यसै विषयमा ऋषि धमलाले एनआरएन रेडियोका लागि गरेको कुराकानीः

तपाईंले नेकपा फुटिसक्यो भनेर कसरी भन्नुभयो ?
त्यो अध्यादेश जसरी पार्टीमा केही छलफल नभइकन आयो त्यसले त त्यही कुराको त संकेत गर्छ नि ।
प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउनुभयो भन्नुभयो, त्यसको आधार के ?
त्यसको अर्थ के लाग्छ, तपाईंहरुले यसलाई कसरी बुझ्नुहुन्छ त्यही त हो । कोरोना भाइरसको बिगबिगीमा त्यस्तो विधेक ल्याउने भनेको अर्थ त्यही त हो नि । अहिलेका मान्छे लाटा छन् र भन्या सबैले बुझ्दैनन् । तपाईं के अर्थ लगाउनुहुन्छ भन्नुस् न ।
अहिलेको आवश्यकता हो नि त अध्यादेश ?
अहिले अध्यादेश कसरी आवश्यकता हुन्छ ।
प्रधानमन्त्रीले त्यसै भनिरहनुभएको छ नि ?
प्रधानमन्त्रीले भनेर मात्रै हुन्छ । उहाँले मात्रै भनेर हुन्छ कि अरु जनताले पनि बोध गर्नुपर्यो आवश्यकता हो भन्ने कुरा । यतिखेर जनताको काम गर्नुपर्दैन अध्यादेश ल्याएर बस्ने हो । छलफल बसह एकातिर केन्द्रित हुनुपर्ने बेलामा अनावश्यक अध्यादेश ल्याएर विवाद सिर्जना गर्ने हो । सार तत्व भनेको हुँ मैले त ।
प्रधानमन्त्रीले फुटाउँदैहुनुहुन्छ पनि भन्नुभयो नि तपाईंले त ?
फुटाउँदै होइन फुटाइसक्नुभयो भन्ने हो मेरो भनाईं ।
त्यसोभए कोपी ओलीले पार्टी फुटाइसक्नुभयो हो ?
मुख्य कुरै त्यही हो नि । त्यसबाट अरु के अर्थ लाग्छ त ?
अध्यादेश ल्याउनेबित्तिकै नेकपालाई फुटाउँछ त ?
पार्टी नफुटाउने भए किन चाहियो त अहिले अध्यादेश ।
अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको छैन अध्यादेशका बारेमा ?
छैन । उहाँहरुले आफ्नो हिसाबले ल्याउनुभएको हो ।
त्यसोभए नेताहरुबीच कुनै छलफल भएको छैन ?
छलफल भएको भए यस्तो बेलामा कसले अध्यादेश ल्याउने सल्लाह दिन्छ । ल्याउनै पर्ने भएपनि त समय, सन्दर्भ चाहियो । विश्वव्यापीरुपमा यस्तो महामारी चलिराखेको छ ।
नेकपा फुटाउने काम प्रधानमन्त्रीले गर्नुभयो भन्ने तपार्इंंहरुको धारणा हो ?
त्यही हो क्या, अरु केही कामै छैन । अझै त फुटिसकेको छैन तर, त्यसको अर्थ त्यही लाग्छ ।
तपार्ईहरुसँग के विकल्प छ त ?
फुटाउन दिनुहुन्न हामी त्यसलाई रोक्छौ ।
कसरी रोक्नुहुन्छ त ?
हो, उहाँको बल पुग्दा उहाँले फुटाउनुभयो । अब त्यसलाई रोक्नुपर्यो । फुटलाई रोकेर फेरि पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्छ ।
केपी ओलीले यस्तो कदम किन चाल्नुभयो ?
त्यही त भन्या ऋषिजी यस्तो बेलामा के शब्द पनि प्रयोग गर्ने । आफ्नो पार्टी, आफ्नो नेता, प्रधानमन्त्री यस्तो बेलामा यस्तो निर्णय गर्नुहुन्छ । यो त एकदमै विचित्रको घटना भयो । म त छक्क परेको छु । भन्न पनि गाह्रो छ के भन्ने ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले हरिबोल गजुरेल कुर्ले केही हुँदैन उहाँको पार्टीमा केही हैसियत छैन भन्नुभयो नि ?
उहाँहरुलाई त के भन्ने खोइ जनताले कसरी बुझेका छन् हेर्ने कुरा हुन् । उहाँका प्रतिक्रियालाई जनताले कसरी लिएका छन् र हरिबोल गजुरेलका प्रतिक्रियालाई लिएका छन् भन्ने कुरा त । जनताको सर्वेक्षणमा जाऔं न त । सही कुरा कसले गरेको छ भन्ने ठूलो कुरा हो नि । जनताले कसलाई समर्थन गर्छन् ।
अहिलेको बेलामा अध्यादेश ल्याउन आवश्यक छ भनेर प्रधानमन्त्रीले नै भन्नुभयो नि ?
प्रधानमन्त्री कार्यालयमा बसेर त्यस्ता छुच्चा कुरा गर्न पाइन्छ ? प्रधानमन्त्री कार्यालयको स्टाफ भनेपछि उहाँ सरकारी तलब खाएको मान्छे हो नि । सरकारी तलबसुविधा खाने मान्छेले कसरी बोल्ने भन्ने कुरा बुझ्नुपर्दैन ?
अहिलेको अवस्थामा दल विभाजन हुने गरी अध्यादेश आउनु उपयुक्त होइन भन्ने तपाईंको निष्कर्ष हो ?
यस्तो बेलामा त्यस्तो अध्यादेश ल्याउनु हुन्छ भनेको । जस्तो स्थिति भएपनि पार्टीभित्रै बहस, छलफल, संघर्ष गर्ने हो । हिजो पनि उहाँहरु विभिन्न पार्टीभित्र अन्तरसंघर्ष, बहस, छलफल हुन्छ त्यो स्वाभाविक कुरा हो । अनि पार्टीको अध्यक्ष भएर अर्का अध्यक्षसँग छलफल छैन, पार्टीभित्र पनि छलफल छैन अझ यो अरु पार्टीहरुसँग पनि छलफल गर्नुपर्ने विषय हो । खाली नेकपाभित्र मात्रै छलफल गरेर पनि पुग्ने विषय होइन । यस्तो बेलामा यसरी अत्तालिएर पार्टीलाई नै थाहा नदिइ विधेयक ल्याउँदा के अर्थ लाग्छ ?
पार्टी एकताबद्ध अगाडि बढौं भनेर प्रचण्ड र माधव नेपाल भन्नुभएको छ नि ?
त्यो त राम्रो कुरा हो नि । एकताबद्ध हुनुभएको एदमै राम्रो हो । फुटको स्थिति त नेपाली जनताले चाहेकै छैनन् नि । कम्युनिस्टहरु एकताबद्ध हुनेमा नेपाली जनताको पहिलादेखि कै चाहना हो अहिले एकताबद्ध भएको छ । यसलाई जोगाएर अगाडि बढ्नुपर्छ त्यसको विकल्पै छैन । हामीलाई पूर्वाग्रह पनि छैन आग्रह पनि कोहीप्रति । जनता र राष्ट्रको काम गरेर कम्युनिस् पार्टी जस्तो भएर अगाडि बढ्नु्पर्यो । छाडातन्त्र त हुनुभएन नि ।
अस्ति पार्टीको बैठक बस्ता त प्रचण्डको पक्षमा बहुमत देखिएन नि ?
अल्पमत, बहुमतको कुरा छोडिदिनुहोस् । अहिले को भयो भएन त्यो सरोकारको विषय होइन । को अल्पमतमा छ, को बहुमतमा छ त्यसको विधि र पद्धति छ, त्यसबाट टुंगो लाग्ने कुरा हो । मूख्य कुरा पार्टीमा छलफल, बहस हुनुपर्छ । यस्तो बेलामा पार्टीमा छलफलै नगरी अध्यादेश ल्याउँदा कसैलाई पाच्य हुन्छ ? यो त पार्टीपंत्ति सबैलाई अपमानित गरेको होइन ? यस्तो भएपछि हाम्रो पार्टी, नेता भनेर कसरी हिड्नु ।
केपी ओली तपाईंंहरुको नेता होइनन् त ?
हामीलाई कति गाह्रो भएको ऋषिजी । आफ्नो पार्टीको नेता, प्रधानमन्त्रीले यस्तो निर्णय गर्दा । उहाँ त अहिले सबै जनताको प्रधानमन्त्री हो एउटा पार्टीको पनि होइन । यस्तो बेलामा यस्तो चिजमा हामीलाई कति गाह्रो र पीडा भएको होला ? जनतालाई के जवाफ दिने ? टाउको निहुराएर हिड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
त्यसोभए केपी ओलीका कारण तपाईंहरु टाउको निहुरियाएर हिड्ने अवस्था सिर्जना भयो ?
देशको प्रधानमन्त्री पार्टीको अध्यक्षले यस्तो निर्णय गर्दा लुकेर हिड्नुपर्ने अवस्था भएको छ ।
अब प्रचण्डसँग विकल्प के छ त ओलीलाई साथ दिने कि पार्टी फुटाउने ?
यहाँ प्रचण्डको कुरा होइन । यो त पार्टीको कुरा हो । प्रचण्ड, केपी शर्मा ओलीको कुरा होर ? यो पार्टीमा त्यति धेरै सदस्य छन् । जनताको अपार भरोसा छ दुईजना नेतालाई जे मन लाग्यो त्यो हुने हो र ?
दुई अध्यक्ष मिलेर जान सक्नुभएन भने विकल्प के ?
मिलेर जानुपर्छ नि । नमिलेर के उपाय छ र ।
नमिले पार्टी फुटाएर जाने नि ?
त्यो विभाजन त व्यहोरिसकेको हामीले । पटक–पटक टुटफुट विभाजनले राम्रो भएन भनेर एकता गरेको न हो । अहिले फुट्ने विषय छ । विचार, नीति र सिद्धान्तमा कहाँ विन्नता भयो ? खाली कुर्सीको लागि पार्टी फुटाउने हो त ?
तर, प्रधानमन्त्रीले त प्रचण्डले सरकार ढाल्न भित्रभित्रै षड्यन्त्र गरे भन्नुभएको छ नि ?
प्रचण्डले सरकार ढाल्न कहाँ प्रस्ताव ल्याउनुभएको छ ?
सरकारलाई असहयोग गर्नुभयो नि ?
कस्तो असयोग भनेको ? अहिले असहयोग गनुर््भएको छ त ? प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्दा पनि यस्तो कोरोनाको प्रकोपकाबीचमा केही गर्नुहुँदैन भनेर प्रचण्डले त सहेर बस्नुभएको हो । उहाँले पार्टी सचिवालयको बैठकको निर्णय नमान्दा पनि उहाँ अस्वस्थ भएको र कोरोनाको प्रकोपका बेलामा यस्ता विषय ल्याएर बहस गर्नुहुँदैन भनेर धैर्यतापूर्वक बसेको अवस्था हो ।
पूर्व माओवादी एकातिर, पूर्व एमाले एकातिर हुने सम्भावना के छ ?
त्यस्तो हुँदैन अब पार्टी नेकपा भइसकेको छ । नेकपा भइसकेपछि बुद्धि नभएका नेता छन् यहाँ ज–जसले जे भन्छ त्यसको पछिलागेर हिड्ने ।
तपाईंहरुले तत्कालीन स्थायी समितिको बैठक बोलाउनुभएको छ नि ?
सचिवालयले समस्या हल गर्न सकेन । त्यसैले हामीले स्थायी समितिको बैठक बोलाएका छांै । केन्द्रीय समितिले सचिवालयलाई जिम्मा दियो, त्यसले समस्या हल गर्न सकेन । त्यसले १५ दिनभित्र एकताको प्रक्रिया सबै टुंग्याउने भनेको हो, त्यो नसकेपछि स्थायी समितिमा आउनुपर्यो ।
त्यसको लागि केपी ओली तयार हुनुपर्यो नि उहाँ त कार्यकारी अध्यक्ष हो नि त ?
उहाँ तयर नभएर हुन्छ ? पार्टीको नेता भएपछि पार्टीको विधि र पद्धतिअनुसार चल्नुपर्दैन ? जे मन लाग्यो त्यो गरेर हुन्छ ।
प्रधानमन्त्रीले यो अध्यादेश फिर्ता लिनुभएन भने के हुन्छ ?
कस्तो लिनुभएन भनेको, लिनुपर्छ नि । अध्यादेश फिर्ता लिएर उहाँले गल्तीकमजोरीलाई करेक्सन गर्नुपर्छ ।
राष्ट्रपतिले लालमोहर लगाइसकेको अध्यादेश कसरी फिर्ता होला त ?
त्यस्तो अध्यादेशलाई विधि छ, प्रक्रिया छ खारेज गर्न पनि सकिन्छ । त्यो समस्या होइन, मुख्य कुरा गल्तीकमजोरीको रिअलाइज गर्नुपर्छ । र, नयाँ सिराबाट पार्टी एकताबद्ध गर्नुप¥यो ।
तपाईहरुले भनेअनुसार प्रधानमन्त्रीले मान्नुभएन भने के हुन्छ ?
त्यो त फिर्ता गर्नुपर्छ । त्योभन्दा बाहेक उहाँसँग अरु के उपाय छ त ? यस्तो काम गरेर दूर्घटनाको बाटो आफैले रोज्ने हो त ?
त्यसोभए प्रधानमन्त्रीले गल्ती सच्याउनुभएन भने दुर्घटना हुन्छ ?
अहिले त एकताको प्रक्रिया टुंगिइ पनि सकेको छैन कस्तो बिडम्बना । एकताको प्रक्रिया नटुंगिँदै पार्टीभित्र फुट आउनु योभन्दा दूर्भाग्य के हुन्छ । यो सरकारलाई हिजो कम्युनिष्टले मात्रै भोट दिएको हो र ? स्थायित्वको लागि गैर कम्युनिस्टले पनि भोट दिएका छन् । किन अरुलाई दियो भने स्थायीत्व पुग्दैन भनेर गैर कम्युनिस्टले पनि भोट दिएका हुन् । अनि फेरि अस्थिरता पैदा गर्ने ?
अस्थिरता कसले पैदा गरिराखेको छ ?
यो काम जसले गर्यो त्यसले अस्थिरता पैदा भयो नि । अहिले पार्टी फुटाउने गरी अध्यादेश ल्याउने काम अस्थिरता पैदा भएन । मुलुकमा नयाँ संविधान बनिसकेपछि नयाँ दिशातिर जाने होला नि फेरि पुरानैतिर फर्किने हो त ?-File Photo



प्रतिक्रिया दिनुहोस्