काठमाडौं, ११ वैशाख । पूर्व आइजीपी सर्वेन्द्र खनालले सांसद डा. सुरेन्द्र यादवसँग आफ्नो पुरानो सम्बन्ध भएको खुलाउँदै हिजो महोत्तरीस्थित घरमै भेटेको स्वीकारेका छन् । रिपोर्टर्स नेपालसँग विशेष कुराकानी गर्दै खनालले यादव महोत्तरीबाट आफूहरुको साथमा काठमाडौंमा आई मेरियट होटलमा बसेको बताए ।
तपाईं डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न रहेको चर्चा छ नि भनी सोधिएको प्रश्नमा खनालले रिपोर्टर्स नेपालसँग भने, ‘माननीय डा. सुरेन्द्र यादवको घरमा खाना खाएपछि हामी उहाँसँगै काठमाडौं फर्किएका हौं । उहाँ मेरो पुरानो मित्र हुनुहुन्छ किन अपहरण गर्नुपर्यो ?’
आफूहरु खाजा खाँदै रोकिदै वीपी राजमार्गको बाटो भएर आउँदा अपहरण गर्यो भन्ने हल्ला सुनेको समेत बताए । तर, डा. यादवले आफै फोन सम्पर्क गरी आफू कामको सिलसिलामा काठमाडौं गइरहेको जानकारी गराएको बताए ।
डा. यादवले समाजवादी पार्टीका अर्का सांसद उमाशंकर अगरियासँग एक घन्टा छुट्टै कुराकानी गरेको र यो उनीहरुको आन्तरिक विषय भएको समेत खनालको भनाई छ । नेकपाका सांसद डा. सुर्यनारायण यादवसँग पनि सुरेन्द्र यादवको कुराकानी भएको र त्यसपछि आफन्त र पीएसओसहित काठमाडौं फर्किएको खनालले खुलाए । ‘पिएसओसहित माननीयको कसरी अपहरण हुन्छ ?’ खनालले प्रश्न गरे ।
‘डा. सुरेन्द्र यादवसहितका सांसदहरुको कुराकानी उहाँहरुको आन्तरिक विषय हो,’ खनालले भने । आफू साथमा भने गएको उनको भनाई छ । सुर्यनारायण यादव र उमाशंकर अगहरीसँग डा. यादवको अलग्गै बसेर गम्भीर कुराकानी भएको उनले खुलाए ।
आफू कुनै पदको पाउने स्वार्थले नगएको स्पष्ट पार्दै सँगै गएका र भेटेका व्यक्तिहरु सबै मिल्ने पुराना साथी भएको बताए । पूर्व आइजीपी खनाल नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै महोत्तरी र धनुषा पुगेका थिए । उनीहरुले त्यहाँ समाजवादी पार्टी फुटाउनका लागि आवश्यक सदस्य पुर्याउन डा. सुरेन्द्र यादवलाई मन्त्री पदको आश्वासनसहित ल्याएको विषय खुलिसकेको छ । बस्नेतसँग खनालको विगत देखि नै राम्रो सम्बन्ध छ । किसान श्रेष्ठ खनालकै गृहजिल्लाका सांसद हुन् । दुवैबीच पुरानो सम्बन्ध छ । डा. सुरेन्द्र यादव खनाल धनुषाका एसपी हुँदा देखि नै चिनजान र नजिकको सम्बन्ध भएका हुन् ।