काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद किसान श्रेष्ठले आफूहरु कसैको पार्टी फुटाउने खेलमा नलागेको र सहभागी नभएको स्पष्टीकरण दिएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो स्पष्ट पारेका हुन् । उनले आफूहरुमाथि समाजवादी पार्टी फुटाउन लागेको भनेर लगाईएको आरोप सरासर गलत भएको पनि दाबी गरे ।
सांसद श्रेष्ठले आफूहरु अर्कै प्रसंगले भेट भएको र त्यही बिचमा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले फोन गरेको सुनाए । उनले भने,”उहाँले हामीलाई फोन गर्नुभयो । उहाँले लकडाउनको बीचमा सहयोग गरिदिनुहोस भनेर भन्नुभयो । सांसदले नै सांसद भेट्न नहुने त केही छैन नि ऋषिजी । भिन्न भिन्न पार्टीका नेताहरु भेट्नै नहुने भनेर कहीँ भनेको छ र ? उनले सर्वेन्द्र खनाल अवकाशपछि नागरिक भएको सुनाउँदै आफूहरुसँग गएको सुनाए । उनले थपे, उहाँको पनि विचार होला । साथीभाई होला । भएको कुरा त के हो भने उमाशंकरजीले हाम्रो पार्टीमा समस्या छ भन्नुभयो, अझ फुट्ने कुरा त हामीलाई थाहा थिएन । हाम्रो पक्षमा असन्तुष्ट पक्ष बढि भयो, असन्तुष्ट असन्तुष्टको भेला गर्नुपर्यो । हामी बस्छौं । त्यसमध्ये हाम्रो सुरेन्द्रजीपनि ईच्छुक हुनुहुन्छ भन्नुभयो ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पूनः प्रत्यारोपण भएपछि आफू बालुवाटार नै नगएको पनि दाबी गरे । उनले भने,”उहाँको किड्नी प्रत्यारोपण भएपछि म बालुवाटार नै छिरेको छैन् । झन अहिले देशमा कोरोनाको संक्रमणको त्रास छ ।” उनले आफूहरुले सांसद यादवसँग केही पनि राजनीतिक कुरा नगरेको पनि जिकिर गरे । उनले भने,”कसरी कुरा हुन्छ ? हामी बालुवाटारबाट निर्देशन भएर गएको होईन् । हामीलाई कसैले जा भनेर जाने पनि होईन । नजा भनेर नजानेपनि होईन् ।”