काठमाडौं बैशाख १३ । नेपालमा तीन महिनाको अवधिमा ११ जिल्ला कोरोना भाइरसबाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सबै संक्रमित निको भएर काठमाडौं जिल्ला कोरोनामुक्त भएकामा खुसी व्यक्त गरेका छन् । यद्यपि, काठमाडौं जोखिममुक्त भने नरहेको चिकित्सकको भनाइ छ ।
कुल संक्रमित ४९ जनामध्ये केही भारतीय नागरिक छन् भने केही विदेशबाट फर्किएका नेपाली छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनामा स्थानीय संक्रमण देखिएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म काठमाडांै, धादिङ, चितवन, कैलाली, कञ्चनपुर, बागलुङ, पर्सा, रौतहट, उदयपुर, भोजपुर र सर्लाही जिल्ला प्रभावित भएका छन् ।
काठमाडौंमा तीन, धादिङमा एक, कैलालीमा चार, उदयपुरमा २८, बागलुङमा चार, चितवनमा दुई, सर्लाहीमा एक, भोजपुरमा एक जना संक्रमित भेटिएका हुन् । यस्तै, रौतहटमा एक, पर्सामा तीन, कञ्चनपुरमा एक जना संक्रमित भेटिएको पाइएको छ ।
संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर र भोजपुर, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडांै, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् ।
सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको प्रदेश १ मा विराटनगरस्थित कोसी अस्पतालमा २८ जनाको उपचार भइरहेको छ । चिकित्सकले प्रभावित जिल्लामा परीक्षणको दायरा बढाउन सुझाव दिएका छन् । संक्रमितमध्ये नेपालमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको जिल्ला पहिचान भएको छैन ।राजधानी दैनिकबाट