काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी फुटाउन ल्याएको विवादास्पद अध्यादेश ५ दिनमै फिर्ता लिए । उनको योजना विफल भयो । तर, यसले समाजवादी र राष्ट्रिय जनता पार्टीलाई एक बनाइदियो । जसको प्रत्यक्ष लाभ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिए ।
नयाँ शक्ति हुँदा बाबुराम एक्ला सांसद थिए । कम्युनिस्ट सिद्धान्त परित्याग गरेपछि उनले नयाँ शक्ति बनाउँदा जुन तामझाम थियो समय बित्दै जाँदा पार्टी कमजोर मात्र भएन उनलाई गोरखाबाट चुनाव जित्न हम्मे पर्यो ।
बाबुराम १६ सांसद सिट भएको संघीय समाजवादी पार्टीसँग एकता गर्न पुगे । जहाँ उनी अध्यक्ष नै बने । एक सिटका बाबुराम प्रतिनिसभामा १७ सिट रहेको पार्टीका नेता बन्न सके । एक सिट राष्ट्रिय सभा सदस्य छन् ।
अहिले समाजवादी पार्टी राजपासँग एकीकरण भएको छ । राजपासँग १७ प्रतिनिधिसभा सांसद सिट संख्या छ । २ राष्ट्रिसभा सदस्य छन् । पार्टी एकीकरण गर्दाको हस्ताक्षरमा बाबुरामको वरियता दोस्रो छ । महन्थ ठाकुरपछि उनको स्थान राखिएको छ ।
अब बाबुराम अध्यक्ष बन्ने निश्चितप्रायः छ । यसले उनलाई ३४ प्रतिनिधिसभा सदस्य भएको दलको नेता बनाएको छ । अब जनता समाजवादी पार्टी स्पष्ट रुपमा तेस्रो र बलियो शक्ति बनेको छ । राजनीतिक उतारचढाव भएमा बाबुराम प्रधानमन्त्रीका दाबेदार पनि बनेका छन् ।-File Photo