वैशाख १३, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । आज साँझ १० बजे भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख पुगेको हो ।
सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको यो भाइरसका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १० देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण २८ लाख ६८ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८ लाख २० हजार निको भएका छन् । उपचाररत करिब १८ लाख ४८ हजारमध्ये करिब ५८ हजारको अवस्था भने चिन्ताजनक छ ।
अहिलेसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ । अहिलेसम्म अमेरिकामा ५२ हजार ८ सयभन्दा बढिको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या ९ लाख ३० हजार पुगेको छ ।
इटलीमा अहिलेसम्म २६ हजार ३ सयभन्दा बढिको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ९५ हजार पुगेको छ । स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ हजार पुग्न लागेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख २४ हजार पुगेको छ ।
फ्रान्समा २२ हजार २ सयभन्दा बढिको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या ७ सय ८० पुगिसकेको छ । भारतमा संक्रमितको संख्या २५ हजार नाघेको छ ।
कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।